शीर्षकहरू

प्रभु अस्पतालको लापरबाहीले ज्यान गुम्यो : गलत शल्यक्रियामा चिकित्सक दोषी ठहर

६ महिनासम्म निगरानीमा मात्र काम गर्न पाउने

प्रभु अस्पतालको लापरबाहीले ज्यान गुम्यो : गलत शल्यक्रियामा चिकित्सक दोषी ठहर

वीरगञ्ज। वीरगञ्जस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरमा भएको गम्भीर चिकित्सकीय लापरबाहीका कारण एक बिरामीले ज्यान गुमाएको घटनामा नेपाल मेडिकल काउन्सिलले कडा कारबाही गरेको छ। काउन्सिलले अस्पतालका सञ्चालक तथा चिकित्सक डा। मनोजकुमार गुप्तालाई ६ महिनासम्म अन्य विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानी ९प्रोबेसन० मा मात्र काम गर्न पाउने गरी निर्णय गरेको हो।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार फागुन ११ र १२ गते बसेको पूर्ण बैठकले घटनाको विस्तृत अध्ययन, शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान तथा सम्बन्धित विज्ञहरूको रायका आधारमा डा। गुप्तामाथि कारबाही गर्ने निर्णय गरेको हो। काउन्सिलले यो निर्णयलाई बिरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकीय त्रुटि विरुद्धको सन्देशका रूपमा पनि लिएको जनाएको छ।

घटनाको सुरुवात २०८० कात्तिक १४ गतेबाट भएको थियो। बारा जिल्लाका ३७ वर्षीय सुरेश साह कानु पेट दुख्ने समस्या लिएर वीरगञ्जस्थित प्रभु अस्पताल पुगेका थिए। प्रारम्भिक रूपमा उनलाई पित्तथैलीसम्बन्धी समस्या भएको बताइएको थियो। तर रोगको यकिन पहिचानका लागि आवश्यक परीक्षणहरू नगरी नै चिकित्सकले हतारमा शल्यक्रिया गरेको आरोप लागेको छ।

परिवारका सदस्यहरूका अनुसार सुरेशलाई अस्पतालमा भर्ना गरेको केही समयमै शल्यक्रिया गरिने जानकारी दिइएको थियो। तर त्यसअघि आवश्यक जाँच तथा परीक्षणहरू पर्याप्त रूपमा गरिएको थिएन। चिकित्सकले पित्तथैली निकालेर परीक्षणका लागि पठाइएको बताए पनि अस्पतालले बिरामीका आफन्तलाई त्यसको आधिकारिक रिपोर्ट उपलब्ध गराएको थिएन।

शल्यक्रियापछि सुरेशको स्वास्थ्य अवस्थामा सुधार आउने अपेक्षा गरिएको थियो। तर उल्टै उनको स्वास्थ्य अवस्था क्रमशः जटिल बन्दै गयो। पेटमा असह्य पीडा, कमजोरी र अन्य समस्या देखिन थालेपछि परिवारले उनलाई थप उपचारका लागि अर्को अस्पतालमा लैजान बाध्य भएको थियो।

अन्य अस्पतालमा परीक्षण गर्दा भने चकित पार्ने तथ्य बाहिर आएको थियो। चिकित्सकहरूले सुरेशको शरीरका भित्री अंगहरूमा क्यान्सर फैलिसकेको पुष्टि गरेका थिए। विशेषज्ञ चिकित्सकहरूका अनुसार यस्तो अवस्थामा पूर्वपरीक्षण विना गरिएको शल्यक्रिया अत्यन्त जोखिमपूर्ण हुने गर्दछ र यसले बिरामीको अवस्था झन् बिगार्न सक्छ।

स्वास्थ्य अवस्था निरन्तर जटिल बन्दै गएपछि सुरेशले लामो समय उपचार गराए पनि अन्ततः २०८१ साउन ३२ गते उनको निधन भएको थियो। परिवारका सदस्यहरूका अनुसार यदि सुरुमा सही रूपमा रोग पहिचान गरेर उपचार गरिएको भए सुरेशको ज्यान बच्न सक्ने सम्भावना थियो।

मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण आफ्नो परिवारले एक सदस्य गुमाएको भन्दै न्यायको माग गरेका थिए। त्यसपछि उनीहरूले २०८१ पुस २८ गते नेपाल मेडिकल काउन्सिलमा औपचारिक उजुरी दर्ता गराएका थिए।

उजुरी प्राप्त भएपछि मेडिकल काउन्सिलले घटनाबारे विस्तृत छानबिन सुरु गरेको थियो। काउन्सिलले उपचार प्रक्रिया, शल्यक्रियाको विवरण, अस्पतालका कागजात तथा संलग्न चिकित्सकहरूको बयान संकलन गरेर अध्ययन गरेको थियो। साथै विषयगत विज्ञहरूको रायसमेत लिइएको थियो।
छानबिनको निष्कर्षमा डा. मनोजकुमार गुप्ताबाट गम्भीर चिकित्सकीय हेलचेक्र्याइँ भएको ठहर गरिएको काउन्सिलले जनाएको छ। सोही आधारमा उनलाई ६ महिनासम्म अन्य विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र काम गर्न पाउने गरी कारबाही गरिएको हो।

यस घटनाले स्वास्थ्य सेवा जस्तो अत्यन्त संवेदनशील क्षेत्रमा केही निजी अस्पतालहरूले अपनाइरहेको लापरबाहीपूर्ण र व्यापारमुखी प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएको छ। बिरामीको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा आवश्यक सावधानी नअपनाउँदा कस्तो दुःखद परिणाम आउन सक्छ भन्ने यो घटनाले देखाएको छ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने विशेषज्ञहरूका अनुसार कुनै पनि शल्यक्रिया अघि बिरामीको अवस्था पूर्ण रूपमा बुझ्न आवश्यक परीक्षणहरू गर्नु अनिवार्य हुन्छ। त्यसो नगरी हतारमा गरिएको उपचारले बिरामीको ज्यानसमेत जोखिममा पार्न सक्छ।

स्वास्थ्य क्षेत्रमा बढ्दो निजी लगानीसँगै सेवा गुणस्तरको निगरानी पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ। नियमनकारी निकायहरूले यस्ता घटनामा कडा छानबिन र कारबाही गर्न सकेमा मात्र स्वास्थ्य संस्थाहरूलाई जिम्मेवार बनाउने वातावरण तयार हुने सरोकारवालाहरू बताउँछन्।

प्रभु अस्पतालमा भएको यो घटनाले बिरामीको जीवनमाथि लापरबाही गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउन नियमनकारी निकायको सक्रियता आवश्यक रहेको स्पष्ट सन्देश दिएको छ। साथै यसले स्वास्थ्य सेवामा पारदर्शिता, जिम्मेवारी र नैतिकता कायम गर्नुपर्ने आवश्यकता झन् बलियो रूपमा उजागर गरेको छ।