काठमाडौं। नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बन्धित साढे २२ करोड रुपैयाँको अनियमितताका प्रमुख योजनाकार योगेन्द्रप्रसाद श्रेष्ठ काठमाडौंबाट पक्राउ परेका छन्।
बैंकिङ कसूरमा दोषी ठहर भई कुल ६ वर्ष कैद र २२ करोड ६७ लाखभन्दा बढी जरिवाना तोकिएका श्रेष्ठ लामो समयदेखि फरार थिए।
प्रहरीको विशेष टोलीले ६९ वर्षीय श्रेष्ठलाई आइतबार नागार्जुन नगरपालिका वडा नं. ५, सितापाइलाबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
श्रेष्ठले नेपाल सेयर मार्केट्स एण्ड फाइनान्समा कार्यरत रहँदा निक्षेपकर्ताको बचत र संस्थाको पुँजी अनियमित रूपमा प्रयोग गरी व्यक्तिगत फाइदाका लागि उपयोग गरेको पाइएको थियो। यस सम्बन्धमा नेपाल राष्ट्र बैंकको सिफारिसपछि बैंकिङ कसूर ऐन अन्तर्गत मुद्दा अघि बढाइएको थियो।
सर्वोच्च अदालतले २०८१ भदौ ५ गते फैसला सुनाउँदै पहिलो मुद्दामा ३ वर्ष कैद र १९ करोड ४६ लाख जरिवाना र दोस्रो मुद्दामा ३ वर्ष कैद र ३ करोड २१ लाख जरिवाना तोकेको थियो। श्रेष्ठमाथि कुल ६ वर्ष कैद र २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना तोकिएको थियो।
यो घटनाले वित्तीय संस्थाहरूमा पारदर्शिता, कानुनी पालनाको महत्व र निक्षेपकर्ताको सुरक्षामा सरकार र नियामक निकायको कर्तव्यको आवश्यकता पुनः पुष्टि गरेको छ।
आर्थिकन्यूज