शीर्षकहरू

कालंगा हाइड्रोले चैत १० देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

कालंगा हाइड्रोले चैत १० देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

काठमाडौं। कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यस आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।

सोमध्ये ९ लाख १० हजार कित्ता शेयर बझाङ्ग, बैतडी र दार्चुला जिल्लाका अति प्रभावित क्षेत्रमा रहेका बासिन्दामा बाँडफाँट गरिनेछ भने बाँकी ४ लाख ९० हजार कित्ता शेयर अन्य प्रभावित क्षेत्रका स्थायी बासिन्दाका लागि उपलब्ध गराइनेछ।

सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ करोड ५० लाख रुपैयाँ बराबरको ३ लाख ५० हजार कित्ता साधारण शेयर छुट्याइएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २४ गते हुनेछ भने ढिलोमा २०८३ बैशाख ९ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गते हुनेछ।

आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले बिक्री प्रबन्धक कार्यालय, आयोजनस्थल कार्यालय र सम्बन्धित बैंक शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डको अनुमति सहित अस्बा प्रणाली वा ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन्।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २८ करोड ३० लाख रुपैयाँ रहेको यस आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यवसायिक उत्पादन भइरहेको छ।

यस आईपीओमार्फत कालंगा हाइड्रोले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लगानीमा समावेश गर्दै स्थानीय विकास र रोजगार सृजना गर्न योगदान पुर्‍याउने लक्ष्य राखेको छ।