काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक इन्धन भण्डारण ट्यांकीमा आगलागी भएको छ। सोमबार भएको आक्रमणपछि विमानस्थल आसपासको क्षेत्रमा आगो लागेको दुबई मिडिया अफिसले जनाएको छ।
आक्रमणलगत्तै सिभिल डिफेन्सका टोलीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्। प्रारम्भिक जानकारीअनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार विमानस्थल नजिकै दुई वटा ड्रोन खसेका थिए। घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलले ट्राभल एड्भाइजरी जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि उडान सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ।
फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको तनावपूर्ण युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमणहरू उल्लेखनीय रूपमा बढेका छन्। त्यसयता खाडी क्षेत्रका अरब देशहरूले दुई हजारभन्दा बढी यस्ता आक्रमणको सामना गरिसकेको बताइएको छ।
यस्ता आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक कार्यालय र सैन्य अड्डामात्र नभई तेलसम्बन्धी पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय तथा व्यावसायिक भवनहरू समेत पर्ने गरेका छन्। सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्य बनाएपछि यूएई यस्ता आक्रमणबाट बढी प्रभावित हुँदै आएको बताइएको छ।
आर्थिकन्यूज