काठमाडौँ। सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विभिन्न नियामक निकायका प्रमुखहरूबीच महत्वपूर्ण भेटघाट भएको छ।
अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल समेतको उपस्थिति रहेको उक्त बैठकमा बैंक तथा वित्तीय क्षेत्रको विकास, वित्तीय अनुशासन, र लगानीमैत्री वातावरण निर्माणबारे व्यापक छलफल भएको थियो।
भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल, र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ पनि सहभागी थिए।
अर्थमन्त्री खनालले बैठकमा आफूलाई अर्थमन्त्रीको रूपमा रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन, तथा आर्थिक सुशासन सुनिश्चित गर्न नियामक निकायहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए।
त्यस्तै, नियामक निकायका प्रमुखहरूले अर्थमन्त्रीसँगको सहकार्यले फलदायी परिणाम दिएको स्मरण गर्दै नेपालका बैंक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गर्न अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनको लागि आभार व्यक्त गरे।
आर्थिकन्यूज