काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा बन्द भएको छ। अघिल्ला दुई दिन लगातार बढेर बन्द भएको नेप्से यस दिन घट्दा लगानीकर्ताबीच सानो सतर्कता देखिएको छ।
सोमबार सेन्सेटिभ इण्डेक्स ६.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले तल झरेको छ।
१३ उपसमूहमध्ये सोमबार १२ उपसमूहको परिसूचक घटेको छ भने केवल उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ। बैंकिङ्ग, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
यस दिन कुल ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकको कारोबारमा ३ करोड ७ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ पुगेको छ।अघिल्लो दिन १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
४ स्टकको शेयर सकारात्मक सर्किटमा कारोबार भएको छ। यसमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावर कम्पनी समावेश छन्।
त्यस्तै, होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६.५ प्रतिशतले उकालो लागेको छ। मूल्य घटेका स्टकको गिरावट दर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढी र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको कारोबार ४१ करोड ५० लाख रुपैयाँ नाघेको छ।
आर्थिकन्यूज