काठमाडौं । नेपाल आयल निगमले माग अनुसार ग्यास आयात नगर्दा अहिलेको अभाव श्रृजना भएको सरकारवालाहरुले दाबी गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरकारवालहरुले आपूर्ति प्रणालीका कारणले नै ग्यासको अभाव भएको दाबी गरेका हुन् ।
राष्ट्रिय उपभोक्ता मञ्चले काठमाडौंमा आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नरहरी तिवारीले नेपालको माग धान्ने बराबरको ग्यास भारतबाट आयात नभएको बताए । कार्यक्रमको चिप गेस्टको रुपमा बोल्दै उनले नेपालमा दैनिक ग्यास खपतको ७० प्रतिशत पनि आयात नभएको अवस्था रहेको उल्लेख गरे ।
उनका अनुसार हाल नेपालमा दैनिक १३० बुलेट ग्यास भए पर्याप्त हुन्छ । दैनिक १२० बुलेट ग्यास नेपाल भित्रिएको खण्डमा अभाव हुँदैन । तर, हाल दैनिक ९० बुलेट मात्रै भित्री रहेको उनको भनाई छ । यसले गर्दा अभाव श्रृजना भएको उनको भनाई छ ।
यसैगरी, ग्यास अभाव भएको हल्लाले मानिसहरुले ओभर स्टक गर्न थालेका कारण अभाव झन बढ्दै गएको उनको ठहर छ । विभागले अनुगमन गर्दा एउटै परिवारले ५ वटा समेट ग्यास स्टोरेज गरेको पाइएको उनले बताए । यसका साथै नेपालमा ग्यासको सिलिण्डर धेरै भएका कारण ओभर स्टकीङ भएको छ । यदि एउटा परिवारमा एउटा मात्रै ग्यासको सिलिण्डर हुन्थ्यो भने ओभर स्टकीङ हुँदैन थियो । यसो हुँदा कृतिम अभाव हुने सम्भावना ज्यादै कम हुने निर्देशक तिवारीको भनाई छ ।
उनले भने, 'यदि एउटा परिवारमा १ वटा सिलिण्डर हुँदा ओभर स्टकीङ हुँदैन, अहिले त एउटाकोमा ५ वटासम्म सिलिण्डर हुन्छ । ग्यासको अभाव भयो भनेर हल्ला सुन्ने वित्तीकै सबै सिलिण्डर भरेर स्टोर गर्दछ । यसले गर्दा पनि अभाव भएको हो ।’ त्यो समस्याको समाधानको लागि आधा सिलिण्डर सिस्टम लागु गरेको पनि उनले बताए ।
यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपाल आयल निगमले सूचना लुकाउँदा अभाव श्रृजना भएको बताए । उनले सरकारलाई समेत निगमले सूचना नदिँदा अभाव श्रृजना भएको उल्लेख गरे ।
यता, उद्योग वाणिज्य संघ काठमाडौंको कार्यसमिति सदस्य उज्वल जंग शाहले अव नेपालीहरु विद्युतीय उपकरणतिर मोडिनु पर्ने सुझाव दिए । उनले नेपालमा पेट्रोलियम पदार्थको उत्पादन नभएको अवस्थामा विश्वमा भएको घटनाले हामी मारमा गरेको बताउँदै विद्युतीय खपतको उपकरण प्रयोग गर्न उनले सुझाए ।
उनले भने, 'अब हामीले विद्युतबाट चल्ने चुलो प्रयोग गर्नु पर्दछ, नजिकै जानुपर्दा मोटरसाइकलको सट्टामा साइकल प्रयोग गर्नु पर्यो । मध्यपूर्वमा युद्ध अझै चर्किएमा भोलिका दिनमा ग्यास आयात नै रोकिन सक्छ । यस अवस्थामा हामीले सर्भाइभ हुनका लागि ३ छाकको सट्टामा एक छाक खाएर बस्न पनि सकिन्छ ।’
कार्यक्रममा उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिने श्रेष्ठले उपभोक्ता हितका लागि उपभोक्ता संरक्षण ऐनको दफा दफा शंसोधन गर्नुपर्ने बताए भने उद्योग वाणिज्य संघ ललितपुरका अध्यक्ष विश्व बज्राचार्यले व्यवसायीहरूबाट भएको मानवीय त्रुटीका पनि सरकारले जरिवाना लगाएकोमा गुनासो गरेका थिए ।
आर्थिकन्यूज