काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म सार्वजनिक ऋण २ खर्ब ४ अर्ब रुपैयाँले बढेर कुल २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको (जीडीपी) को ४७.१३ प्रतिशतमा पुगेको छ । विनिमयदरमा भएको परिवर्तनका कारण यस आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा सार्वजनिक ऋणको दायित्व झण्डै एक खर्बले बढेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको साउन देखि फागुनसम्ममा सार्वजनिक ऋण २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ थपिएको हो । योसँगै फागुनमसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । २०८२ साउन १ गतेसम्म २६ खर्ब ७४ अर्ब ४ करोड तिर्न बाँकी ऋण रहेको थियो ।
नेपालको अर्थतन्त्रको आकारको अनुपातमा तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४७.१३ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋण जीडीपीको २२.०७ र बाह्य २६.०६ प्रतिशत छ ।
यस अवधिसम्म सरकारको तिर्न बाँकी आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँ तथा बाह्य ऋण भने १५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ छ । कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
गत साउन १ गतेसम्म तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड र वाह्य ऋण १४ खर्ब ५ अर्ब ८२ करोड थियो । विनिमयदरमा भएको परिवर्तनका कारण यस आर्थिक वर्षको फागुनमसान्तसम्म आइपुग्दा ९७ अर्ब ९८ करोडले सार्वजनिक ऋणको दायित्व बढेकोे छ । पछिल्लो समयमा डलरको भाउ बढ्दै गएकाले ऋण दायित्व थपिएको हो ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्ममा ३ खर्ब ४६ अर्ब ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत छ ।
यस अवधिमा सरकारले २ खर्ब ४३ अर्ब ६६ करोड आन्तरिक ऋण तथा ५६ अर्ब ८० करोड बाह्य ऋण प्राप्ति गरेको छ । जसमा आन्तरिक ऋणको हिस्सा ६७.३१ प्रतिशत तथा बाह्या ऋणको हिस्सा २४.३१ प्रतिशत रहेको छ भने कुल प्राप्त आन्तरिक ऋण लक्ष्यको ८१.१० प्रतिशत तथा बाह्य ऋण प्राप्ति लक्ष्यको १८.९० प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्ष २०८२-८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब वार्षिक बजेट रहेकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ५८.९४ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ३.९७ प्रतिशत हो ।
चालु आवको ८ महिनामा सरकारले २ खर्ब ४ अर्ब ८० करोड आन्तरिक ऋण तथा ३७ अर्ब ४६ करोड बाह्य ऋणको दायित्व घटाएको छ । फागुनमसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ९४ अर्ब १९ करोड र ब्याज भुक्तानीमा ४८ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ ।
आर्थिकन्यूज