काठमाडौँ। काठमाडौँको नागार्जुन नगरपालिका-८ भीमढुङ्गाबाट हुन्डी तथा अभौतिक मुद्रा (क्रिप्टो) कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई १ करोड १६ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन्। उनीहरूलाई काठमाडौं जिल्ला अदालत बाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट १ करोड १६ लाख रुपैयाँ नगद, विभिन्न बैंकका तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटिएका २७ लाख ३० हजार रुपैयाँ बराबरका तीन थान चेक, चार थान एटीएम कार्ड, एक थान नागरिकता, दुई वटा चारपाङ्ग्रे सवारी साधन, एक वटा दुईपाङ्ग्रे सवारी साधन र तीन थान सवारी दर्ता किताब बरामद गरेको छ।
यसैगरी, छ थान मोबाइल फोन, एनसेल र नेपाल टेलिकमका ३१ वटा सिमकार्ड, एक थान कम्प्युटर सेट र Tether (USDT) ७,१७५.३४ रहेको Binance खातासमेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद सामग्रीसहित पक्राउ परेका दुवै जनामाथि हुन्डी तथा अभौतिक मुद्रा कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।
आर्थिकन्यूज