काठमाडौँ। ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक २०२६’ सोमबारदेखि सुरु भएको छ। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने यो अभियानको चौधौं संस्करण हो।
अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंक ले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभाग सँगको सहकार्यमा उद्घाटन कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा काठमाडौँका विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्मका करिब ५०० विद्यार्थी सहभागी थिए।
कार्यक्रम उद्घाटन गर्दै विश्वनाथ पौडेल ले पैसा कसरी कमाउने, बचत गर्ने र सदुपयोग गर्ने भन्ने विषयमा परिवारबाटै शिक्षा दिनुपर्नेमा जोड दिए। जुनसुकै पेशामा आबद्ध व्यक्तिका लागि पैसा समान रूपमा महत्त्वपूर्ण हुने भएकाले यसको उचित व्यवस्थापन र सदुपयोगमा ध्यान दिन आवश्यक रहेको उनले बताए।
राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी ले स्वागत मन्तव्य राख्दै विद्यालयस्तरदेखि नै पैसाको आदर्श व्यवस्थापनबारे विद्यार्थीलाई शिक्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले नेपालमा वित्तीय समावेशिता सूचकाङ्क आर्थिक वर्ष २०२४/२५ मा ०.५३ पुगेको जानकारी पनि दिए।
कार्यक्रमको दोस्रो सत्रमा विभिन्न निकायका अधिकारी र विद्यार्थीबीच प्यानल छलफल भएको थियो। सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, सहकारी विभागका उपरजिस्ट्रार शशि कुमार लम्साल र नेपाल बैंकर्स एसोसिएसन का अध्यक्ष सन्तोष कोइराला ले आ–आफ्नो कार्यक्षेत्रबारे जानकारी दिँदै विद्यार्थीका जिज्ञासाको जवाफ दिएका थिए।
चैत ८ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत देशभर विभिन्न वित्तीय चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछन्। बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीहरूले पनि अभियानमा सहभागिता जनाउनेछन्।
अभियानअन्तर्गत अन्तरक्रिया, प्रतियोगिता, सञ्चार माध्यममार्फत चेतनामूलक सामग्री प्रसारण तथा विद्यार्थीलाई वित्तीय संस्थाको अवलोकन गराउने कार्यक्रम तय गरिएको छ। ‘लर्न, सेभ, अर्न’ स्थायी नारा रहेको यो अभियान OECD को संयोजनमा सन् २०१२ देखि विश्वभर र २०१३ देखि नेपालमा मनाइँदै आएको छ। हालसम्म १७६ देशका सात करोडभन्दा बढी बालबालिका यस अभियानबाट लाभान्वित भइसकेका छन्।
आर्थिकन्यूज