काठमाडौँ । मेरो किसान लिमिटेडले सर्वसाधारणमा शेयर निष्कासन (आईपीओ) गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।
यससम्बन्धी सम्झौतापत्रमा सोमबार काठमाडौँको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको छ। कार्यक्रममा दुवै कम्पनीका पदाधिकारीहरूको उपस्थितिमा आईपीओ निष्कासन सम्बन्धी सहकार्य औपचारिक रूपमा अघि बढाइएको हो।
कृषि उत्पादनको सम्पूर्ण आपूर्ति शृंखला प्रविधिमार्फत विस्तार गर्ने उद्देश्यसहित स्थापना भएको मेरो किसान लिमिटेडमा विभिन्न क्षेत्रका विशिष्टीकृत व्यक्तिहरूको संलग्नता रहेको कम्पनीले जनाएको छ। कम्पनीले किसानसँग प्रत्यक्ष सहकार्य गर्दै कृषि बिउबिजन उत्पादन, कृषि उपज संकलन, भण्डारण र वितरण गर्ने कार्य गर्दै आएको छ। साथै डिजिटल प्लेटफर्ममार्फत कृषि उत्पादन उपभोक्तासम्म पुर्याउने व्यवस्था समेत सञ्चालन गरिरहेको कम्पनीको भनाइ छ।
कम्पनी र बिक्री प्रबन्धक दुवै पक्षले यस सहकार्यले पूँजी बजारमार्फत सर्वसाधारणलाई कम्पनीसँग जोड्ने र कृषि प्रधान देश नेपालमा कृषि क्षेत्रमा थप लगानी र विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
यसैबीच कम्पनीले चितवन जिल्लाको पटिहानी क्षेत्रमा कृषि प्रशोधन केन्द्र तथा दुग्ध डेरी सञ्चालन गर्ने तयारी गरिरहेको छ। त्यसका लागि करिब साढे तीन बिगाहा जग्गा खरिद गरी आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ। चालु आर्थिक वर्षभित्र कृषि प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने र आगामी आर्थिक वर्षको पहिलो त्रैमासभित्र दुग्ध डेरी सञ्चालन गर्ने लक्ष्य कम्पनीले राखेको छ।
सम्झौता कार्यक्रममा मेरो किसान लिमिटेडका अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा र सञ्चालक सन्तोष बस्नेत सहभागी थिए। त्यस्तै प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया तथा विशिष्टीकृत लगानी कोष प्रमुख सुदीप हरि ढुंगाना पनि कार्यक्रममा उपस्थित रहेका थिए।
आर्थिकन्यूज