वीरगंज। प्रतिष्ठान स्तरमा गुनासो व्यवस्थापन संयन्त्र सञ्चालन समितिका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तथा व्यवहारिक तालिम वीरगंजमा एक दिने कार्यक्रमका रूपमा सम्पन्न भएको छ।
महिला सशक्तिकरण र समृद्ध नेपाल कार्यक्रमअन्तर्गत आयोजित तालिममा विभिन्न उद्योगका गुनासो सुनुवाइ संयन्त्रका सदस्यहरूले सहभागिता जनाएका थिए।
तालिमको उद्घाटन कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले कार्यस्थललाई सुरक्षित, मर्यादित र समानतामूलक बनाउन गुनासो व्यवस्थापन संयन्त्र प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याए। उनले उद्योग व्यवसायमा कार्यरत श्रमिकका अधिकारको संरक्षण र कार्यस्थलमा उत्पन्न हुने समस्याको समाधानका लागि यस्ता तालिम उपयोगी हुने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले तालिमको उद्देश्य र सञ्चालनबारे प्रस्तुति दिएका थिए। तालिम यूरोपियन युनियनको आर्थिक सहयोग र संयुक्त राष्ट्रसंघ अन्तर्गतका चारवटा संस्थामध्ये अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा सञ्चालित महिला सशक्तिकरण, समृद्ध नेपाल कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो।
तालिममा मधेश प्रदेशका पाँच वटा उद्योगका गुनासो सुनुवाइ संयन्त्रका सदस्यहरूलाई कार्यस्थलमा हुने यौनजन्य हिंसा र दुव्र्यवहारको सम्बोधन गर्ने विषयमा प्रयोगात्मक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा अधिवक्ता सर्मिला श्रेष्ठले प्रशिक्षण दिए भने कार्यस्थलमा लैङ्गिक हिंसा न्यूनीकरण, गुनासो व्यवस्थापन संयन्त्रको प्रभावकारी सञ्चालन र सुरक्षित कार्य वातावरण निर्माणसम्बन्धी विस्तृत जानकारी दिइएको थियो।
सहजीकरणको जिम्मेवारी तालिम संयोजक डा. वासुदेव लाल कर्णले सम्हालेका थिए। तालिमले उद्योग क्षेत्रमा गुनासो व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
आर्थिकन्यूज