शीर्षकहरू

कालीगण्डकी लोकमार्गः फलेबास–अर्मादी खण्ड स्तरोन्नति सुरु

कालीगण्डकी लोकमार्गः फलेबास–अर्मादी खण्ड स्तरोन्नति सुरु

पर्वत । लामो समयदेखि अलपत्र बनेको निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेबास–अर्मादी सडक स्तरोन्नति सुरु भएको छ । सङ्घीय सरकारको सहयोगमा फलेबास नगरपालिका–६ ढिकबाट कुश्मा नगरपालिका–४ अर्मादीसम्मको सडक स्तरोन्नति सुरु भएको हो ।

कालीगण्डकी लोकमार्ग आयोजना कार्यालय पाल्पाका अनुसार गत कात्तिक २१ गते ठेकेदार कम्पनीसँग सम्झौता भई सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने जिम्मा नवकान्तिपुर मैनाचुली, नाना जेभीले पाएको छ । उक्त कम्पनीसँग रु ६५ करोड ६१ लाख ८३ हजार १२८ मा सम्झौता भएको जनाउँदै ३६ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको आयोजनाका इन्जिनियर पिपुल गौतमले जानकारी दिए ।

उनका अनुसार सडक डबल लेनको बनाइने छ । चौध किलोमिटर लामो उक्त खण्डमा सात मिटर चौडाइमा कालोपत्रे हुनेछ भने दायाँबायाँ एक–एक मिटर छाडेर एक–एक मिटरको नाली निर्माण गरिने इन्जिनियर गौतमले जानकारी दिए । अहिले अर्मादीतर्फबाट धमाधम काम भइरहेको उनले बताए ।

उनका अनुसार अहिले कटिङ, नाली निर्माण र क्रसर उद्योग स्थापनाको काम भइरहेको छ । निर्वाचनका कारण केही मजदुर घर फर्किएकाले कम सङ्ख्यामा कामदार देखिए पनि अब बिस्तारै कामले गति लिने उनको भनाइ छ । निर्धारित मितिमा काम सम्पन्न गर्ने गरी निर्माण व्यावसायीलाई पर्याप्त मजदुर र उपकरण परिचालन गर्न निर्देशन दिइएको गौतमले बताए ।

लोकमार्गको पर्वत खण्डअन्तर्गत सेतीवेणीबाट फलेबाससम्मको ३३ किमी सडक कालोपत्रे भइसकेको भए पनि फलेबास-अर्मादी खण्डको १४ किमी सडक ठेकेदारको ढिलासुस्ती र बजेटको स्रोत सुनिश्चित नहुँदा लामो समयदेखि अलपत्र बनेको थियो ।

उक्त खण्डको मार्ग विस्तारका लागि विसं २०७३ असार २२ मा सम्झौता भई विसं २०७५ जेठ २१ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकामा विसं २०८० मा मात्रै मार्ग खुलाउने कार्य पूरा भएको थियो । मार्ग खुले पनि कालोपत्रेका लागि बजेट सुनिश्चित नहुँदा काम हुन सकेको थिएन । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको पालामा स्रोत सुनिश्चित भएर चालु आर्थिक वर्षमा बजेट विनियोजन भएपछि काम अघि बढेको इन्जिनियर गौतमले जानकारी दिए ।

यसअघि उक्त खण्डका लागि रु नौ करोड १७ लाख ४९ हजार २४५ विनियोजन भएको थियो । उक्त बजेटले फलेबास–६ ढिकबाट कुश्मा–४ अर्मादीसम्मको १४ किमी ट्र्याक खुलेको थियो । त्यसबाहेक अन्य काम भने हुन सकेको थिएन ।

कालीगण्डकी करिडोरको पर्वतखण्डमा ६० किमीभन्दा बढी भाग पर्दछ । सोअन्तर्गत सेतीवेणीबाट फलेबाससम्मको भाग कालोपत्रे भइसकेको छ भने मालढुङ्गाबाट बेनीसम्मको १३ किमी खण्डको काम पनि सम्पन्न भएको छ ।

अब बाँकी रहेको फलेबास–अर्मादी खण्डअन्तर्गत १४ किमी सडक पूरा भएमा पर्वतखण्ड सम्पन्न हुने इन्जिनियर गौतमले बताए । यो सडक पर्वतको उत्तरबाट दक्षिणसम्म छिचोल्ने भएकाले यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको लाइफलाइनका रूपमा हेरिँदै आइएको उनको भनाइ छ ।