काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य स्थिर नभएसम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारसँग आग्रह गरेको छ।
महासंघले डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धन र निर्माण सामग्रीको मूल्यमा आएको तीव्र वृद्धिले निर्माण व्यवसायीलाई ठूलो आर्थिक भार परेको जनाएको छ। यस्तो अवस्थाले पूर्वाधार निर्माणको लागत बढ्ने र अन्ततः सरकारी निकायमै आर्थिक बोझ थपिने महासंघको भनाइ छ।
महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा विकास निर्माणको मुख्य सिजनमै इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण उद्योग गम्भीर दबाबमा परेको उल्लेख गरिएको छ।
महासंघका अनुसार निर्वाचनको माहोलको फाइदा उठाउँदै सीमित आयातकर्ताले सडक निर्माणमा प्रयोग हुने बिटुमिनमा कार्टेलिङ गर्दै कृत्रिम अभाव सिर्जना गरेका छन्। यसले कालोपत्रे गर्न तयार भएका सडकहरू थप क्षतिग्रस्त हुने जोखिम बढेको महासंघले जनाएको छ।
बुकिङको समयको तुलनामा अहिले बिटुमिनको मूल्य प्रतिलिटर करिब ४० रुपैयाँसम्म बढेको दाबी पनि गरिएको छ। भारतले बिटुमिन निर्यात रोकेको कारण निर्माण क्षेत्र थप प्रभावित भएको महासंघको भनाइ छ।
निर्वाचनको समयमा केही उद्योगीले फलामे डन्डी र सिमेन्टको मूल्य पनि बढाएको महासंघले आरोप लगाएको छ। महासंघका अनुसार फलामे डन्डीको मूल्य प्रतिकेजी ८५ रुपैयाँबाट बढेर करिब १०० रुपैयाँ पुगेको छ भने सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँसम्म बढाइएको छ।
महासंघले खुला अर्थतन्त्रको नीति विपरीत हुने गरी गरिएको यस्तो अव्यवहारिक मूल्यवृद्धि दण्डनीय अपराध भएको जनाएको छ।
सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार आयोजनाहरूमा मूल्यवृद्धिअनुसार मूल्य समायोजनको व्यवस्था गर्न पनि महासंघले सरकारसँग माग गरेको छ। साथै बजारमा मूल्य स्थिर नभएसम्म सम्पूर्ण निर्माण कार्य अस्थायी रूपमा स्थगित गरी सरकारले नै ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने माग गरिएको छ।
आर्थिकन्यूज