शीर्षकहरू

६ हजार ३ सय भन्दा बढी ग्यास सिलिन्डर लुकाउने श्रीराम डिपोलाई ३ लाख जरिवाना

६ हजार ३ सय भन्दा बढी ग्यास सिलिन्डर लुकाउने श्रीराम डिपोलाई ३ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गरेको आरोपमा श्रीराम ग्यास उद्योगको डिपोलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागको नेतृत्वमा गएको अनुगमन टोलीले ललितपुर महानगरपालिका–२८ हरिसिद्धि स्थित डिपोमा भरिएका ६ हजार ३७७ ग्यास सिलिन्डर भण्डारण गरेर राखिएको फेला पारेपछि जरिवाना गरिएको हो।

उपभोक्तालाई मर्का पर्ने गरी ग्यासको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ अनुसार ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा उक्त उद्योगलाई सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

मध्यपूर्वी देशहरूमा भइरहेको युद्धका कारण नेपालमा ग्यास आपूर्ति प्रभावित हुने आशंकाले उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय गर्न थालेपछि बजारमा कृत्रिम अभाव देखिएको विभागको भनाइ छ। यही अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले महँगोमा ग्यास बिक्री गर्ने प्रयास गरेको आशंकामा अनुगमन कडाइ गरिएको जनाइएको छ।

हाल स्थानीय उपभोक्ताहरूले एउटा ग्यास सिलिन्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने र नाम टिपाएर हप्तौँसम्म कुर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्।

विभागले सोमबार २१ वटा डिपो, उद्योग तथा खाद्य भण्डारमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा श्रीराम डिपोलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ भने काठमाडौंको मैतीदेवीस्थित बडिमालिका खाद्य भण्डारलाई १५ हजार र कीर्तिपुरको दुवाडी स्टोर एन्ड मल्ट्री ट्रेडलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। अन्य १८ व्यवसायीलाई भने सामान्य निर्देशन दिइएको छ।