शीर्षकहरू

एनआईसी एशिया बैंकको लिलाम सम्पत्ति विवरण अब अनलाइन पोर्टलमा

एनआईसी एशिया बैंकको लिलाम सम्पत्ति विवरण अब अनलाइन पोर्टलमा

काठमाडौँ। एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी दिन अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

बैंकका अनुसार उक्त पोर्टलमार्फत लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापस् सहितको विवरण उपलब्ध गराइएको छ। ग्राहकले लिलाम सम्बन्धी सूचनामा समावेश क्युआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गरेर आवश्यक जानकारी लिन सक्नेछन्।

यसका साथै, इच्छुक खरिदकर्ताले कुनै सम्पत्तिबारे थप जानकारी लिन चाहेमा पोर्टलमै रहेको म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी सिधै बैंकसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले सो पोर्टलमा नियमित रूपमा नयाँ लिलाम सूचना तथा सम्पत्ति विवरण अद्यावधिक गर्दै जाने जनाएको छ। लिलाममा रुचि राख्नेहरूले अनलाइनमार्फतै सम्पूर्ण जानकारी प्राप्त गरी लाभ लिन सक्ने विश्वास बैंकको छ।