शीर्षकहरू

वाणिज्य बैंकहरूले सडक दस्तुर संकलनमा ‘आरएफआईडी’ कार्ड जारी गर्न पाउने

वाणिज्य बैंकहरूले सडक दस्तुर संकलनमा ‘आरएफआईडी’ कार्ड जारी गर्न पाउने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूले सडक उपभोग दस्तुर (टोल) संकलनका लागि रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (RFID) चिपमा आधारित प्रिपेड कार्ड वा ट्याग जारी गर्न पाउने व्यवस्था गरेको छ।

केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो। यसअनुसार, कार्ड वा ट्याग नेपाल सरकारले तोकेका सडक तथा सडकखण्डमा चल्ने सवारी साधनबाट टोल संकलनमा मात्र प्रयोग हुनेछ।

यस नयाँ प्रविधिसँगै सवारी चालकहरूले टोल प्लाजामा गाडी रोकेर नगद बुझाउनुपर्ने झन्झट हट्नेछ। कार्ड जारी गर्ने बैंकहरूले ग्राहकलाई कार्ड प्रयोग गर्ने तरिका, शुल्क संरचना र सेवा सुविधा सम्बन्धी जानकारी उपलब्ध गराउनुपर्नेछ। ग्राहकले आफ्नो सवारी साधनसँग जोडिएको कार्ड प्रयोग गरेर डिजिटल रूपमा टोल शुल्क भुक्तानी गर्न सक्नेछन्।

नेपाल राष्ट्र बैंकले यस कदममार्फत डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धन गर्ने, टोल संकलन प्रक्रिया पारदर्शी र द्रुत बनाउने तथा समय र स्रोतको बचत सुनिश्चित गर्ने उद्देश्य राखेको छ।