एजेन्सी । डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा मंगलबार नेटो तथा अन्य धेरै सहयोगी देशहरूले होर्मुज जलडमरूमध्यको सुरक्षामा सहयोग गर्ने उनको आह्वान अस्वीकार गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानको सैन्य क्षमता “ध्वस्त” भइसकेको दाबी गर्दै अब नाटो देश वा अन्य कुनै सहयोगको आवश्यकता नरहेको उल्लेख गरेका छन्। गत साता उनले युरोपेली तथा अन्य देशहरूसँग महत्वपूर्ण समुद्री मार्ग हर्मुजको सुरक्षा सुनिश्चित गर्न सहयोग मागेका थिए।
‘ट्रुथ सोसल’ मा गरिएको पोस्टमा ट्रम्पले भनेका छन् कि अधिकांश नाटो सहयोगीहरूले पश्चिम एशियामा इरानविरुद्धको सैन्य अभियानमा सहभागी हुन अस्वीकार गरेका छन्। यद्यपि, लगभग सबै देशहरू इरानलाई कुनै पनि हालतमा परमाणु हतियार राख्न नदिनुपर्ने विषयमा सहमत रहेको पनि उनले बताएका छन्।
ट्रम्पले अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले समेत आफ्नो सहयोग आह्वान अस्वीकार गरेको बताएका छन्। ट्रम्पका अनुसार, “खुसीको कुरा के हो भने हामीले इरानको सैन्य शक्ति पूर्ण रूपमा कमजोर बनाइसकेका छौं। उनीहरूको नौसेना समाप्त भइसकेको छ, वायुसेना पनि नष्ट भएको छ, र उनीहरूको विमानविरोधी तथा रडार प्रणाली पनि ध्वस्त भइसकेको छ। सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरूको नेतृत्व तहका धेरै व्यक्तिहरू अब छैनन्, त्यसैले उनीहरूले अब हामीलाई, पश्चिम एशियामा रहेका हाम्रा सहयोगीहरूलाई वा विश्वलाई धम्की दिन सक्दैनन्।”
उनले हालका सैन्य सफलताका आधारमा अब नेटो देशहरूको सहयोग आवश्यक नभएको र अमेरिका पहिले पनि यस्ता समर्थनमा निर्भर नरहेको दाबी गरे। ट्रम्पले भने, “विश्वको सबैभन्दा शक्तिशाली देशको राष्ट्रपतिको रूपमा म भन्छु—हामीलाई कसैको सहयोग आवश्यक छैन।”
आर्थिकन्यूज