काठमाडौं। उद्योग विभागले विदेशी तथा स्वदेशी ब्रान्डसँग मिल्दोजुल्दो नाम र लोगो प्रयोग गरेको आरोपमा १० नेपाली उद्योगसँग स्पष्टीकरण माग गरेको छ। ११ वटा उजुरीका आधारमा विभागले बुधबार सूचना जारी गर्दै सम्बन्धित उद्योगलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अन्तिम अल्टिमेटम दिएको हो।
यसअघि पनि स्पष्टीकरण सोधिए पनि उद्योगहरूबाट कुनै प्रतिक्रिया नआएपछि सार्वजनिक सूचना जारी गर्नुपरेको विभागले जनाएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत दिइएको छ।
उजुरी दिने कम्पनीमध्ये द कोका–कोला कम्पनी सबैभन्दा अगाडि देखिएको छ। कोकाकोलाले आफ्ना ब्रान्डसँग मिल्ने नाम र लोगो प्रयोग गरिएको भन्दै तीन वटा छुट्टाछुट्टै उजुरी दर्ता गरेको छ। पाथीभरा फूड एण्ड प्याकेजिङले ‘कुल कोला’ र ‘सुपर फ्यान्टास्टिक’ नाम प्रयोग गरेको तथा सुनसरीस्थित प्रिमियन अर्गानिक्सले ‘पलपल कोला’ नाम प्रयोग गरेको विषयमा उसले आपत्ति जनाएको हो।
यस्तै, जर्मनीको ह्यूगो बोसले झापास्थित एक फेसन कम्पनीविरुद्ध ट्रेडमार्क दाबी गरेको छ भने अमेरिकी कम्पनीहरू कमकास्ट, मन्स्टर इनर्जी र टर्नर इन्टरटेनमेन्टले पनि विभिन्न नेपाली उद्योगविरुद्ध ट्रेडमार्क नक्कलको आरोप लगाएका छन्।
उजुरीहरू पेय पदार्थ, कस्मेटिक्स, खाद्य तथा फेसन उद्योगसँग सम्बन्धित छन्। विभागका अनुसार सबै प्रक्रिया संक्षिप्त कार्यविधि ऐन, २०२८ अन्तर्गत अघि बढाइएको हो।
निर्धारित ७ दिनभित्र सम्बन्धित उद्योगहरूले प्रमाणसहित जवाफ नदिए उनीहरूको दाबी स्वतः खारेज गरी एकतर्फी निर्णय प्रक्रिया अगाडि बढ्ने विभागले स्पष्ट पारेको छ।
आर्थिकन्यूज