काठमाडौं। नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइराला ले नागरिक लगानी कोषको वार्षिकोत्सव कार्यक्रममा दीर्घकालीन र सुरक्षित प्रतिफल सुनिश्चित गर्न कोषको लगानी विविधीकरण आवश्यक भएको बताएका छन्।
अध्यक्ष कोइरालाका अनुसार हालको न्यून ब्याजदर (फिक्स्ड डिपोजिटमा २.७५ प्रतिशत) ले पारंपरिक निक्षेपमा मात्र निर्भर हुँदा जोखिम र आम्दानीको अस्थिरता बढेको छ। उनले भने, “फिक्स्ड डिपोजिटमा मात्र केन्द्रित हुँदा जोखिम बढी हुन्छ। हाइब्रिड इन्स्ट्रुमेन्टहरूमा लगानी विस्तार गर्दा दीर्घकालीन आम्दानी सुनिश्चित हुन्छ र बजारमा स्थायित्व आउँछ।”
उनले वैकल्पिक वित्तीय उपकरणमा लगानीले क्यापिटल मार्केटको विकासमा समेत सहयोग पुग्ने बताए। यसले लगानी विविधीकरण सुनिश्चित गर्दै एकै प्रकारको आम्दानीमा केन्द्रित हुने जोखिम कम गर्छ र दीर्घकालीन आम्दानीको सर्टेनिटी कायम राख्छ।
कोइरालाका अनुसार हाल देशभर करिब ७७ खर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने करिब ५८ खर्ब रुपैयाँ कर्जा प्रवाहमा छ। चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रको कर्जा वृद्धिदर करिब ३.९ प्रतिशतमा सीमित रहेको उनले जानकारी दिए।
अध्यक्ष कोइरालाले बैंकिङ प्रणालीमाथि बढ्दो चुनौतीप्रति चिन्ता व्यक्त गर्दै भने, “सार्वजनिक धम्की, कालोमोसो दल्ने र नाम सार्वजनिक गर्ने गतिविधि समग्र आर्थिक वातावरण बिगार्ने खतरा सिर्जना गर्छ। ‘ऋण लिनु पर्दैन, तिर्न पर्दैन, राज्यले तिर्दिन्छ’ भन्ने भाष्य अर्थतन्त्रका लागि घातक छ।”
आर्थिकन्यूज