शीर्षकहरू

नेपाल भित्रिने तयारीमा राइड शेयरिङ प्लेटफर्म 'उबर’

नेपाल भित्रिने तयारीमा राइड शेयरिङ प्लेटफर्म 'उबर’

काठमाडौं । राइड शेयरिङ एप उबर नेपाल भित्र्याउने तयारी सुरु भएको छ । नेपालका प्रतिनिधिले हाल नेपालमा उबर भित्र्याउने र दर्ता गर्ने बारे कानूनी सल्लाह लिइरहेको स्रोतले जनाएको छ । 

केही महिना अघि अमेरिकामा रहेको उबरको हेड अफिसबाट केही प्रतिनिधि नेपाल आएर नेपालको बजारको बारेमा जानकारी लिएका थिए । उनीहरुले नेपालको राइड शेयरिङ बजारबारे अध्ययन गर्ने जिम्मा नेपालका प्रतिनिधिलाई दिएका थिए ।

ति प्रतिनिधिले अमेरिकाबाट आएका उबरका टोलिहरुलाई नेपालको बजारबारे जानकारी गराएको स्रोतले जनाएको छ । यसरी जानकारी गराउँदा उबर कम्पनीका प्रतिनिधिहरु सकारात्मक मात्रै होइन नेपाल आउन उत्साहित भएर फर्किएको स्रोतले आर्थिक न्यूजलाई जानकारी दिएको छ । 

उसोत, उबर नेपाल भित्र्याउनका लागि चौधरी ग्रुपले २०७३ सालमा नै तयारी सुरु गरेको थियो । नेपालको बजार अध्ययन पनि गराएको थियो । तर, चौधरी ग्रुपको त्यो योजना असफल भएको थियो । सोही समयमा नेपालमा टुटल उदायको थियो । टुटल नेपाली ब्राण्ड हो । टुटलले बजार विस्तार गरिरहँदा सोही समयमा नेपालमा पठाओ भित्रियो । प्राविधिक रुपमा पनि ठूलो लगानी भएको पठाओको अगाडि टुटलले खासै प्रतिस्पर्धा गर्न सकेन । 

टुटलका राइडर पठाओतिर लाग्न थाले, कस्टमर पनि सोही अनुसार पठाओतिर मोडिन थालेछि टुटल बन्द भएको थियो । 

३० प्रतिशत व्यवस्थाबारे छलफल    

सरकारले उद्योग व्यवसाय ऐन, २०७६ लाख संशोधन गर्दै राइड शेयरिङ एपलाई सेवामूलक क्षेत्रमा समावेश गरेको छ । सोही अनुसार राइड शेयरिङ एप दर्ता हुनु पर्दछ । यदि विदेशी कम्पनीको राइड शेयरिङ एप नेपाल भित्र्याउनु परेमा ३० प्रतिशत नेपाली नागरिकको लगानी हुनुपर्ने कानूनी प्रावधान रहेको छ ।

सोही अनुसार प्रक्रिया मिलाएर राइड शेयरिङ गर्ने एप दर्ता हुनु पर्दछ । उबर एक बहु राष्ट्रिय कम्पनी हो । जसको मुख्यालय अमेरिकामा रहेको छ । जसको सेवा ८० भन्दा बढी देशमा रहेको छ । 

अर्थात् उबर विदेशी कम्पनी भएकाले नेपालमा दर्ताका लागि विदेशी लगानी स्वीकृत आवश्यक पर्दछ । यतिमात्रै होइन, ३० प्रतिशत शेयर स्वामित्व नेपाली नागरिकको हुनुपर्दछ ।

यसबारे उबरका प्रतिनिधिले उद्योग विभागबाट जानकारी दिएको स्रोतले बताएको छ । उनीहरुले घुमाउरो पारामा यो व्यवस्था लगानी मैत्री नभएको बताएका थिए । उबरका प्रतिनिधिलाई उद्रित गर्दै विभागको स्रोतले आर्थिक न्यूजसँग भन्यो, 'उहाँहरूले ३० प्रतिशत नेपाली लगानी अनिवार्य रहेको बारेमा जिज्ञासा राख्नुभएकाे थियाे । उहाँहरूले भन्नुभएकाे थियाे कि हाम्रो सेवा ८० भन्दा धेरै देशमा छ, तर कुनै देशमा यस्तो व्यवस्था छैन, नेपालमा अलि उल्झन रहेछ ।’

२००९ मा स्थापना भएको उबर अमेरिकन कम्पनी हो । हाल नेपालमा विदेशी कम्पनीका ३ वटा राइड शेयरिङ प्लेटफर्म सञ्चालनमा रहेको छ । पठाओ, इन्ड्राइभ र याङ्गो । उबर नेपाल भित्रिएको खण्डमा विदेशी राइड शेयरिङ कम्पनीको संख्या ४ पुग्छ । यससँगै नेपालका राइड शेयरिङमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

उपभोक्ताको हितका लागि हेर्ने हो भने जति धेरै प्रतिस्पर्धा भयो त्यति नै राम्रो मानिन्छ । धेरै प्रतिस्पर्धा हुँदा शुल्क घट्ने, सेवा गुणस्तरिय हुने जानकारहरु बताउँछन् ।