शीर्षकहरू

इन्फिनिक्सले नेपाली बजारमा नोट ६० सिरिज र नोट एज सार्वजनिक गर्दै

इन्फिनिक्सले नेपाली बजारमा नोट ६० सिरिज र नोट एज सार्वजनिक गर्दै

काठमाडौँ । नेपाली स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने तयारीका साथ इन्फिनिक्सले आफ्ना अत्याधुनिक उत्पादनहरू नोट ६० प्रो, नोट ६० र नोट एज आगामी २० मार्च २०२६ मा आधिकारिक रूपमा सार्वजनिक गर्ने भएको छ।

यो नयाँ सिरिजले विशेष गरी उच्च मूल्यका स्मार्टफोनहरूलाई प्रत्यक्ष चुनौती दिने लक्ष्य राखेको छ। कम्पनीले फ्ल्यागशिप स्तरका विशेषताहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँदै नेपाली प्रयोगकर्ताहरूका माझ एउटा नयाँ मानक स्थापित गर्ने रणनीति लिएको देखिन्छ।

यस लाइनअपको मुख्य आकर्षणको रूपमा रहेका नोट ६० प्रो र नोट ६० लाई कम्पनीले “सुट अप, देशको नोट” अभियानका साथ प्रस्तुत गरेको छ। उच्च कार्यक्षमता, भरपर्दोपन र आकर्षक डिजाइन खोज्ने प्रयोगकर्ताहरूलाई लक्षित गरी बनाइएका यी डिभाइसहरूले नेपालमा मिड–प्रिमियम स्मार्टफोन अनुभवलाई नयाँ ढङ्गले परिभाषित गर्ने अपेक्षा गरिएको छ। यी फोनहरू केवल सामान्य सुधार मात्र नभएर स्मार्टफोनको एउटा नयाँ श्रेणीको सुरुवात भएको दाबी कम्पनीले गरेको छ।

प्राविधिक पक्षलाई हेर्दा नोट ६० प्रो मा शक्तिशाली स्न्यापड्रागन ७एस जेन ४ फाइभजी पर्फर्मेन्स प्लेटफर्म प्रयोग गरिएको छ भने यसलाई ३डी आइसकोर भिसी कुलिङ प्रविधिले थप सुदृढ बनाएको छ। यसले गर्दा भारी काम वा गेमिङ गर्दा पनि फोन तातिने समस्या नहुने र स्मूथ चल्ने बताइएको छ। त्यस्तै, नोट ६० मा डाइमेन्सिटी ७४०० अल्टीमेट फाइभजी चिपसेट जडान गरिएको छ, जसले दैनिक प्रयोगका लागि पावरफुल र किफायती कार्यक्षमता प्रदान गर्नेछ।

यसैगरी, यो लाइनअपलाई पूर्णता दिन प्रिमियम डिजाइनमा नोट एज पनि आउँदैछ। “सुट अप विथ एलिगेन्स” सन्देशसहित आउन लागेको यस फोनमा विश्वकै पहिलो मिडियाटेक डाइमेन्सिटी ७१०० फाइभजी प्लेटफर्म प्रयोग गरिएको छ। यसमा ३डी-कर्भ्ड १.५के आई-केयर डिस्प्ले जडान गरिएको छ, जसले प्रयोगकर्तालाई उच्च गुणस्तरको दृश्य अनुभव दिनुका साथै आँखाको सुरक्षामा पनि ध्यान दिनेछ। यसमा लामो समयसम्म सफ्टवेयर अपडेट र सुरक्षा अपडेटको सुविधा समेत उपलब्ध हुने जानकारी दिइएको छ।

विशेषताहरूका आधारमा यो सिरिज निकै शक्तिशाली देखिएको छ। यसमा १४४ हर्जको १.५के अल्ट्रा एचडीआर सिनेमाटिक डिस्प्ले र ६५०० एमएएच क्षमताको शक्तिशाली ब्याट्री समावेश छ, जुन ६ वर्षसम्म टिक्ने क्षमताको रहेको दाबी गरिएको छ। साथै, फास्ट चार्जिङ, वायरलेस चार्जिङ सपोर्ट, ५० मेगापिक्सेलको लाइभ फोटो मोड क्यामेरा र प्रिमियम मेटल डिजाइनले यी फोनहरूलाई थप आकर्षक बनाएका छन्। स्मार्टफोनहरूको आधिकारिक मूल्य भने सार्वजनिक कार्यक्रममा मात्र घोषणा गरिनेछ।