काठमाडौं । इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि इरानले खाडी क्षेत्रका छिमेकी देशहरू र इजरायलमाथि मिसाइल र ड्रोनमार्फत जवाफ दिएको छ । इरानका वरिष्ठ अधिकारी अली लारीजानी र जनरल गोलाम रेजा सोलिमानीको मृत्यु भएपछि इरानले इजरायलको केन्द्रीय क्षेत्रमा बहु–वारहेड मिसाइल प्रहार गरेको पुष्टि गरेको छ ।
यस आक्रमणमा रामत गानमा दुई व्यक्तिको मृत्यु भएको छ भने अन्यमा क्षति पुगेको छ । साउदी अरेबिया, कुवेत र अन्य अरब देशहरूमा पनि इरानी मिसाइल र ड्रोन आक्रमण भएको छ, जसलाई हवाई सुरक्षा प्रणालीले रोक्न सफल भएको छ ।
इरानी मिसाइल प्रहारपछि इजरायलले तेहरान वरिपरिका बसिज पोस्टहरूमा हवाई आक्रमण गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस घटनालाई ‘इरानी शासन कमजोर पार्ने प्रयास’ भएको बताएको छ । इरानले होर्मुज जलडमरुमा आफ्नो नियन्त्रण कायम राखेको छ, जहाँ विश्वको करिब पाँचौँ हिस्सा तेल ढुवानी हुन्छ ।
अमेरिकाले पनि यस क्षेत्रमा आक्रमण र धम्की जारी राखेको छ । लेबनानमा इजरायलले इरान समर्थित हिजबोल्लाहमाथि हवाई आक्रमण जारी राखेको छ । मध्य बियरुतमा भएको आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको र २४ जना घाइते भएका छन् । उक्त द्वन्द्व मध्यपूर्वमा मानवीय, आर्थिक र सुरक्षा संकट अझ गहिरो बनाउने सङ्केत प्रस्तुत गरेको छ ।
इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणमा अधिकाशं संरचना प्रभावित
गत महिनाको अन्त्यमा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा सयुक्त आक्रमण सुरु गरे देखि इरानमा ४६ हजार भन्दा बढी नागरिक संरचना तथा एकाइहरू प्रभावित भएको जनाइएको छ ।
प्रभावित मध्ये करिब ३९ हजार आवासीय संरचना रहेको अन्तर्राष्ट्रिय मामिलाका लागि इरानी रेड क्रिसेन्ट सोसाइटी (आइआरसीएस) का निर्देशक राजीह अलिसावन्दीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।
उनले निरन्तरको आक्रमण प्रति खेद व्यक्त गर्दै छ हजार ८५१ वटा व्यापारिक एकाइहरू पनि क्षतिग्रस्त भएको बताए ।
आक्रमणले लगभग २३६ वटा स्वास्थ्य केन्द्रहरु र १२० वटा विद्यालय तथा शैक्षिक संस्थाहरूमा पनि असर परेको जनाइएको छ ।
आक्रमणमा १७ वटा आइआरसीएस केन्द्रहरू क्षतिग्रस्त हुनुका साथै एउटा उद्धार हेलिकप्टर नष्ट भएको उनले बताए ।
आक्रमणमा आइआरसीएसका दश जना कर्मचारी घाइते भएको र एक जनाको मृत्यु भएको अलीसावन्दीले बताउनु भएको छ । शैक्षिक केन्द्रमा भएको आक्रमणमा २०६ जनाको मृत्यु हुनुका साथै १५४ जना घाइते भएको जनाइएको छ । स्वास्थ्य क्षेत्रमा भएको आक्रमणर्मा १६ जनाको मृत्यु हुनुका साथै अन्य ९६ जना घाइते भएको बताइएको छ ।
आइआरसीएसले अमेरिका र इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरेको प्रमाण रेकर्ड गरिरहेको उल्लेख गर्दै सशस्त्र द्वन्द्वमा बालबालिका, विद्यार्थी र वृद्धवृद्वा जस्ता व्यक्तिहरूमाथि प्रहार गर्नु नहुने उनले बताए ।
उनले क्यान्सर लगायत दुर्लभ रोगबाट पीडितहरूका लागि औषधि अत्यावश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय मानवीय सहायताका लागि केन्द्र तयार रहेका बताए ।
उन आइआरसीएस फार्मेसीहरू चौबिसै घण्टा सञ्चालनमा रहेको जनाउदै अहिलेसम्म कुनै पनि बिरामीहरू स्वास्थ्य सेवा र औषधिबाट वञ्चित नभएको उल्लेख गरे ।
फेब्रुअरी – २८ मा, इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमणहरू गर्दा सर्वोच्च नेता अली खमेनी, उच्च पदस्थ सैन्य कमान्डरहरू र नागरिकहरू मारिए भने इरानले इजरायल र मध्य पूर्वमा अमेरिकी सम्पत्ति र आधारहरूलाई लक्षित गर्दै आक्रमणको प्रतिक्रिया दिएको छ ।
आर्थिकन्यूज