काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाका नवनिर्वाचित सांसदलाई समग्र देशको विकासमा केन्द्रित हुन निर्देशन दिएका छन्।
ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै लामिछानेले सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रमै सीमित नहुन आग्रह गर्दै देशव्यापी सोच विकास गर्नुपर्ने बताए। “क्षेत्र मात्र होइन, देशलाई केन्द्रमा राखेर काम गर्नुपर्छ,” उनले भने।
उनले जनताले दिएको जिम्मेवारीलाई गम्भीर रूपमा लिन आग्रह गर्दै पारदर्शिता र जनतासँग नजिकको सम्बन्ध कायम राख्न निर्देशन दिए।लामिछानेले पुराना दलप्रति जनताको असन्तुष्टि उल्लेख गर्दै रास्वपाले छोटो समयमै परिणाम दिनुपर्ने दबाब रहेको स्वीकार गरे। “जनताले ३६ वर्ष पर्खिए, हामीलाई ३६ महिना पनि कुर्दैनन्,” उनले भने।
उनले सांसदहरूलाई सादगी जीवनशैली अपनाउन, सरकारी सेवाको उपयोग गर्न र जनताको दैनिक जीवनसँग जोडिन आग्रह गरे। साथै ‘राइट टु रिकल’ जस्ता अवधारणालाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिए।
लामिछानेले सामाजिक न्यायलाई देशको प्रमुख समस्या औँल्याउँदै त्यसका लागि सक्रिय भूमिका खेल्न आग्रह गरे। साथै अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई लगानीका लागि सुरक्षित देशको रूपमा प्रस्तुत गर्ने लक्ष्य पनि राखे।
आर्थिकन्यूज