काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चन्द्रप्रसाद ढकालले एफएनसीसीआईको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन्। उनले सहमति र सहकार्यबाट नेतृत्व चयन गर्न सके संस्थागत एकता बलियो हुने बताएका छन्।
ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले निजी क्षेत्रको साझा संस्थामा नेतृत्व पनि सहमतिमै चयन हुनुपर्ने धारणा राखे। उनका अनुसार यसले महासंघलाई थप प्रभावकारी र सशक्त बनाउनेछ।
ढकालले ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै परम्परागत सीप, कला र स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत निर्यात बढाउन सकिने बताए। “गुणस्तर कायम राख्दै उत्पादनको परिमाण पनि बढाउन सकियो भने अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना छ,” उनले भने।
उनले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, प्रविधिको प्रयोग र बजार विस्तारमार्फत निर्यात अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। साथै, उत्पादनदेखि बजारसम्मको श्रृंखला मजबुत बनाउन स्थानीय तह, निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक रहेको बताए।
ढकालले देशमा औद्योगिक वातावरण सुधारका लागि नीतिगत सुधार अनिवार्य रहेको उल्लेख गर्दै लगानीमैत्री नीति, सरल कर प्रणाली, पूर्वाधार विकास र प्रशासनिक झन्झट घटाउनुपर्ने बताए। उनले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीर रूपमा सुन्नुपर्ने र नीति निर्माणमा प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखे।
महासंघको विधान संशोधनबारे जानकारी दिँदै उनले जिल्ला, नगर तथा महिला उद्यमीहरूको प्रतिनिधित्व बढाउने गरी परिवर्तन गरिएको बताए। संशोधित विधानले संगठनलाई थप समावेशी र प्रतिनिधिमूलक बनाउने विश्वास उनले व्यक्त गरे।
आर्थिकन्यूज