काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कमजोर प्रदर्शन गरेपछि उनले नैतिक जिम्मेवारी लिँदै पद त्याग गरेका हुन्।
थापाले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा समक्ष बुझाएको स्रोतले जनाएको छ। यद्यपि, राजीनामा पत्र भने सार्वजनिक गरिएको छैन। चैत ६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि नै उनले यस्तो निर्णय लिएका हुन्।
गत फागुन २१ गते भएको निर्वाचनमा थापा स्वयं सर्लाही–४ बाट पराजित भएका थिए। त्यस्तै, कांग्रेसका अन्य शीर्ष नेताहरू पनि चुनावमा अपेक्षित सफलता हासिल गर्न असफल रहे, जसका कारण पार्टीभित्र नेतृत्वप्रति आलोचना बढ्दै गएको थियो।
यसअघि पुस २७–३० गते काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए। सोही महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। तर, उक्त प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै पूर्वसभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए, जुन हाल विचाराधीन छ।
निर्वाचनमा कमजोर नतिजापछि पार्टीलाई पुनः सुदृढ बनाउन तथा आगामी नियमित महाधिवेशनको तयारीका लागि थापाले मार्ग प्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएको बुझिएको छ। अब उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषय केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ।
आर्थिकन्यूज