शीर्षकहरू

बेनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

बेनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले आवेदन दिने आज (चैत ५ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले चैत १ गतेदेखि आईपीओ निष्काशन खुला गरेको हो। जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले जनाएको छ।

जसमध्ये सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरको १० प्रतिशत अर्थात १ लाख ४ हजार कित्ता शेयर विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। उक्त शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आवेदन खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आईपीओका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपाल ले कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ रहेको आयोजनाको विद्युत उत्पादन अनुमति अझै २४ वर्ष बाँकी छ।

यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउन्ट आधारमा ८.१५ वर्ष रहेको कम्पनीले जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था छ।