शीर्षकहरू

अमेरिकालाई इरानकाे चेतावनी : 'बगेका थोपा-थोपा रगतको बदला लिन्छौँ', युद्ध लम्बिने संकेत

अमेरिकालाई इरानकाे चेतावनी : 'बगेका थोपा-थोपा रगतको बदला लिन्छौँ', युद्ध लम्बिने संकेत

काठमाडौँ । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईले अमेरिका र इजरायल विरुद्ध कडा चेतावनी दिएका छन्। राष्ट्रिय सुरक्षा प्रमुख अली लारिजानीको हत्या पछि सर्वोच्च नेता खामेनेईले बगेको प्रत्येक थोपा रगतको मूल्य चुकाउनुपर्ने भन्दै प्रतिशोध लिने संकेत गरेका हुन्।

तेहरानमा लारिजानीको अन्त्येष्टिका क्रममा जारी लिखित सन्देशमा खामेनेईले “सहिदहरूको हत्या गर्ने अपराधीहरूले चाँडै यसको मूल्य तिर्नुपर्नेछ” बताएका छन्। उनले लारिजानीको हत्या इरानका शत्रुहरूको घृणाको परिणाम भएको पनि उल्लेख गरेका छन्।

संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीचको युद्ध अहिले १९औँ दिनमा पुगेको छ। यसैबीच इजरायलले आफ्ना सेना इजरायल डिफेन्स फोर्स (IDF) लाई कुनै पनि इरानी उच्च अधिकारीलाई लक्षित कारबाही गर्न अनुमति दिएको जनाएको छ।

लारिजानी इरानका प्रभावशाली नेतामध्ये एक थिए। उनी पूर्व संसद सभामुख तथा नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने नेताका रूपमा चिनिन्थे। यसअघि युद्धको सुरुवातमै पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएपछि लारिजानी सबैभन्दा उच्च तहका नेतामध्ये एक थिए। उनको हत्या इरानका लागि ठूलो क्षति मानिएको छ।

यता, नयाँ सर्वोच्च नेता खामेनेई हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। अमेरिकाले उनी घाइते भएको दाबी गरेको छ भने इरानी पक्षले उनी सुरक्षित रहेको जनाएको छ। यसले उनको अवस्थाबारे अन्योल बढाएको छ।

लारिजानीको हत्या र त्यसपछि आएको चेतावनीले क्षेत्रीय तनाव अझ चर्किने संकेत दिएको छ। विश्लेषकहरूका अनुसार अबको अवस्था कूटनीतिक प्रयास सफल हुन्छ कि युद्ध अझ फैलिन्छ भन्ने केही समयमै स्पष्ट हुने देखिन्छ।