काठमाडौं। अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई खेलकुद गतिविधिमा संलग्न नगराउन अखिल नेपाल फुटबल संघलाई निर्देशन दिएको छ।
विभागले अध्यागमन नियम उल्लंघन हुने गरी विदेशी खेलाडीलाई विभिन्न प्रतियोगितामा सहभागी गराइएको पाइएपछि कानुनी प्रावधान स्मरण गराउँदै पत्राचार गरेको हो।
अध्यागमन नियमावली २०५१ अनुसार विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा लिएको हो, सोही प्रयोजनबाहेक अन्य गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ। तर पछिल्लो समय पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई खेलमा उतारिएको तथ्य भेटिएपछि विभागले कडाइ थालेको जनाएको छ।
विभागका अनुसार कुनै पनि विदेशी खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनुअघि आवश्यक कार्यसहमति र श्रम स्वीकृति लिन अनिवार्य छ। यस सम्बन्धमा अनुगमनसमेत सुरु भइसकेको र नियमविपरीत संलग्नता भेटिए तत्काल कारबाही गरिने चेतावनी दिइएको छ।
निर्देशनको बोधार्थ युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई समेत पठाइएको छ।
कानुनविपरीत गतिविधिमा संलग्न विदेशी नागरिकलाई जरिवाना गर्नुका साथै देश निकाला गर्न सकिने व्यवस्था रहेको विभागले जनाएको छ।

आर्थिकन्यूज