काठमाडौं । केही दिनको गिरावटपछि सेयर बजार पुनः सुधारतर्फ फर्किएको छ। नाफा बुकिङको दबाब कम हुँदै जाँदा बजारमा लगानीकर्ताको सक्रियता बढेको छ। जसका कारण नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको हो।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा दुई तिहाइ नजिकको सरकार बन्ने निश्चित भएसँगै सेयर बजारमा उत्साह देखिएको छ। चुनावलगत्तै खुलेको पहिलो कारोबार दिनमै नेप्से परिसूचक करिब ६ प्रतिशतले बढेपछि बजार ‘सर्किट’ लागेर बन्द भएको थियो।
त्यसपछिका कारोबार दिनहरुमा भने बजार केही स्थिर बन्दै गएको छ। विशेषगरी न्यून मूल्य भएका कम्पनीहरूमा क्रमशः खरिद चाप बढ्दै गएको देखिएको छ, जसले लगानीकर्ताको जोखिम लिन तयार मनोविज्ञान झल्काउँछ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ६४.६९ अंकले उकालो लाग्दै २८७७.०३ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इन्डेक्स ११.६३ अंक, फ्लोट इन्डेक्स ४.८५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.१४ अंकले वृद्धि भएका छन्।
घट्दो बजारका कारण पर्खेर बसेका लगानीकर्ताहरू पुनः प्रवेश गर्दा दैनिक कारोबारमा सुधार आएको हो। समग्रमा बैंकिङ क्षेत्रको नेतृत्वमा बजारमा व्यापक सुधार देखिँदा लगानीकर्ताको मनोबल पुनः बलियो बन्दै गएको संकेत देखिएको छ। विशेषगरी बैंकिङ, जलविद्युत् र विकास बैंक समूहमा खरिद चाप देखिएको छ।
यस दिन सबै १३ उपसमूह हरिया देखिएका छन्। विकास बैंक समूह सबैभन्दा बढी ३.९५ प्रतिशतले बढ्दा बैंकिङ समूह ३.१६ प्रतिशतले उकालो लागेको छ। जलविद्युत र जीवन बीमा समूहमा पनि २ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ भने अन्य अधिकांश समूहमा १ प्रतिशतभन्दा बढी सुधार आएको छ।
आजको कारोबारमा नेप्से परिसूचक उकालो लाग्दै बजार उच्च अंकले बढेको छ । पछिल्ला दिनहरूमा उच्च बिन्दुमा पुगेका सेयरहरुमा लगानीकर्ताले नाफा सुरक्षित गरेपछि बजारमा सामान्य करेक्सन आएको थियो। तर, सोही करेक्सनपछि पुनः खरिद चाप बढ्दा बजार फर्किएको विश्लेषण गरिएको छ।
बजारसँगै कारोबार रकममा पनि उल्लेख्य उछाल देखिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा झन्डै दोब्बर वृद्धि हुँदै यस दिन २१ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ३४२ कम्पनीका ५ करोड ६९ लाख कित्ता सेयर १ लाख ९१ हजारभन्दा बढी पटक किनबेच भएका छन्।
चार कम्पनीका सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरका लगानीकर्ताले उच्च प्रतिफल पाएका छन्। होटल फरेष्ट इन करिब १० प्रतिशतले बढ्दा सान्जेन जलविद्युत पनि उल्लेख्य उकालो लागेको छ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ, जसको ६७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यसपछि नेशनल हाइड्रोपावर र रिडी हाइड्रोपावरमा उच्च कारोबार देखिएको छ।
राजनीतिक स्थायित्वको अपेक्षा, नीतिगत स्पष्टताको संकेत र सुधारोन्मुख आर्थिक सूचकका कारण बजारमा सकारात्मक धारणा बलियो बन्दै गएको विश्लेषण गरिएको छ। बजार जानकारहरूका अनुसार नाफा बुकिङ स्वाभाविक प्रक्रिया भए पनि आधारभूत रूपमा बजारमा लगानीको आकर्षण कायम रहेको छ।
तरलता सहज हुनु, ब्याजदर घट्दो क्रममा रहनु र लगानीकर्ताको मनोबल बलियो हुनुजस्ता कारणले बजारमा पुनः उछाल आउने संकेत देखिएको उनीहरुको भनाइ छ।
आर्थिकन्यूज