काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकामा फिल्म निर्माणका नाममा सार्वजनिक बजेट दुरुपयोग गरेको आरोपमा अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दा विशेष अदालतमा दायर गरिएको हो। आरोपितहरूमा गाउँपालिका अध्यक्ष साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आरजे २४ न्युज तथा नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामबहादुर लम्साल रहेका छन्।
आयोगका अनुसार ‘अन्धपथ’ नामक चलचित्र निर्माणका लागि सार्वजनिक खरिदसम्बन्धी कानुनविपरीत प्रक्रिया अपनाउँदै प्रतिस्पर्धाबिनै १५ लाख रुपैयाँभन्दा बढीको सम्झौता गरिएको थियो। त्यस क्रममा बजेट विनियोजनको स्पष्ट आधारबिनै सम्झौता गरिनुका साथै अत्यधिक पेश्की भुक्तानी, बैंक जमानत नलिई रकम निकासा तथा नक्कली बिलमार्फत थप खर्च देखाइएको आरोप लगाइएको छ।
अनुसन्धानबाट १२ लाख ७७ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना भएको ठहर गर्दै सोही बराबर बिगो कायम गरी जरिवाना र असुलउपरको मागदाबी गरिएको छ। कम्पनी सञ्चालक लम्साललाई मतियारका रूपमा उस्तै सजाय माग गरिएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार आरोपितहरूले मिलेमतोमा बदनियतपूर्वक सार्वजनिक स्रोतको दुरुपयोग गर्दै गैरकानुनी ढंगले सम्झौता अनुमोदन गराएको र पछि त्यसलाई ढाकछोप गर्ने प्रयाससमेत गरेको देखिएको छ।
उक्त प्रकरणमा कलाकार राजेश हमाल संलग्न रहेको ‘अन्धपथ’ चलचित्र निर्माणको बहानामा सरकारी बजेट खर्च गरिएको उजुरीपछि अनुसन्धान सुरु भएको थियो।
आयोगले सार्वजनिक पदको दुरुपयोग गरी आर्थिक अनियमितता गरेको निष्कर्षसहित कैद, जरिवाना र बिगो असुलउपरको मागसहित मुद्दा अघि बढाएको जनाएको छ।
आर्थिकन्यूज