काठमाडौं । किर्तिपुरमा सञ्चालन हुने किर्तिनारी नामक संस्थालाई हिमानी कोषले व्यवसाय विस्तार र उत्पादन क्षमता बढाउन २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। किर्तिनारी केरा रेशाबाट विभिन्न सामग्री उत्पादन गर्दै आएको कम्पनी हो।
हिमानी कोषले यो रकम रिवोल्भिङ माइक्रो सिडिङ कार्यक्रम अन्तर्गत प्रदान गर्ने तयारी गरेको छ। यस पहलको उद्देश्य नेपाली युवालाई विदेश पलायन नहुने गरी नेपालमै रहँदै व्यवसाय र स्वरोजगारतर्फ आकर्षित गर्नु हो।
नेपाली युवाहरूको विदेश पलायन बढिरहेको समस्यालाई मध्यनजर गर्दै, हिमानी कोषले युवालाई नेपालमै रहँदै व्यवसाय र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले गत साउन १७ गते विशेष कार्यक्रम आयोजना गरेको थियो।
इन्टरनेशनल क्लबमा सम्पन्न उक्त कार्यक्रमको नाम “ब्रेन ड्रेन टु ब्रेन गेइन” राखिएको थियो। कार्यक्रममा सहभागी युवाहरूलाई विदेश नताकी आफ्नै देशमा नयाँ व्यवसाय सुरु गर्ने र स्वरोजगारको अवसर उपयोग गर्ने विषयमा जानकारी र प्रेरणा दिइएको थियो।
कोषले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने योजना रहेको जनाएको छ। यसबाट युवा स्वरोजगारलाई प्रोत्साहन मिल्ने र स्थानीय उत्पादन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज