काठमाडौं । ग्लोबल रिसाइक्लिङ डे २०२६ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रमले रिसाइक्लिङ अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ। “डोन्ट थिङ्क वेस्ट—थिङ्क अपर्चुनिटी” भन्ने अन्तर्राष्ट्रिय नारासहित सम्पन्न उक्त कार्यक्रममा दिगो फोहर व्यवस्थापन, पुनःप्रयोग र सर्कुलर अर्थतन्त्रको विकासबारे व्यापक छलफल गरिएको थियो।
क्रिएसन नेपालले ग्रीनशिफ्ट परियोजनाअन्तर्गत आयोजना गरेको कार्यक्रममा फोहरलाई समस्या मात्र नभई अवसरका रूपमा लिनुपर्ने सन्देश दिइयो। सहभागीहरूले सामूहिक प्रयासमार्फत फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउँदै नयाँ आर्थिक सम्भावनाहरू सिर्जना गर्न सकिने धारणा राखे।
कार्यक्रमकी प्रमुख अतिथि ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले रिसाइक्लिङको महत्वबारे जनचेतना अझ बढाउनुपर्ने बताइन्। उनले सरसफाइमा खटिने कामदारहरूको योगदानको सम्मान गर्न आग्रह गर्दै फोहरप्रतिको सोच परिवर्तन आवश्यक रहेको उल्लेख गरिन्। महानगरले फोहर व्यवस्थापन सुधारका लागि विभिन्न पहल गरिरहेको पनि उनले जानकारी दिइन्।
विशेष अतिथि युरोपेली संघका नेपालस्थित सहकार्य प्रमुख होसे लुइस भिनुएसा सान्तामारियाले “ग्रीन सर्कुलारिटी” अवधारणाले घटाउने, पुनःप्रयोग गर्ने, पुनःप्राप्त गर्ने र रिसाइक्लिङ गर्ने अभ्यासलाई सुदृढ बनाउने बताए। यस्ता पहलहरूले दिगो भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले प्लास्टिकलाई चुनौतीसँगै अवसरका रूपमा बुझ्नुपर्ने धारणा राख्दै नवप्रवर्तन र सहकार्यमार्फत समाधान खोज्नुपर्नेमा जोड दिइन्। अध्यक्ष अरुणा कार्कीले ग्रीनशिफ्टलाई केवल परियोजना नभई परिवर्तनको अभियानका रूपमा व्याख्या गर्दै कार्यक्रमले हरित रूपान्तरणतर्फ सकारात्मक सन्देश दिएको बताइन्।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा करिब १०० जना फोहर संकलनकर्ताको साइकल र्याली आयोजना गरिएको थियो। यूएन पार्कबाट सुरु भएको र्याली थापाथली पुल, बागमती करिडोर, बल्खु, नख्खु, भैंसेपाटी, ज्वालाखेल र पुल्चोक हुँदै पुनः यूएन पार्कमै पुगेर सम्पन्न भएको थियो।
आयोजकका अनुसार कार्यक्रममा ३०० देखि ५०० जनासम्मको सहभागिता रहेको थियो, जसमा रिसाइक्लिङ उद्यमी, फोहर संकलनकर्ता, युवा नवप्रवर्तनकर्ता र हरित व्यवसायमा संलग्न संस्थाहरूको उल्लेख्य उपस्थिति थियो। यस अवसरमा रिसाइक्लिङ क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरू तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा आयोजित दुई वटा विषयगत छलफल सत्रमा विज्ञहरूले रिसाइक्लिङ र सर्कुलर अर्थतन्त्रका अवसर, चुनौती र सम्भावनाबारे धारणा राखेका थिए। वक्ताहरूले रिसाइक्लिङले फोहरको मात्रा घटाउने, हरितगृह ग्यास उत्सर्जन कम गर्ने र दिगो उपभोग तथा उत्पादन प्रणालीलाई प्रवर्द्धन गर्ने बताए।
वातावरणविद्हरूले यस्ता कार्यक्रमहरूले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने तथा विद्यमान कानुनी व्यवस्था र वातावरणीय नीतिसँग पनि मेल खाने धारणा राखेका छन्। साथै, यस्ता पहलहरूले स्थानीय तह, निजी क्षेत्र र युवाबीच सहकार्य बढाउँदै स्वच्छ सहर, दिगो रोजगारी र हरित अर्थतन्त्र निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज