काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै जनाएको छ कि चैत्र ६ गते शुक्रवारदेखि मौसममा उल्लेख्य परिवर्तन आउनेछ।
यसअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना छ। हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई सचेत रहन सुझाव दिइएको छ।
त्यस्तै लुम्बिनी प्रदेशका दाङ, नेपालगञ्ज र पूर्वी नेपालका विराटनगर, धनकुटा, धरान आसपासका जिल्लाहरूमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा भीषण हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। प्रि–मनसुनको अवधि भएकाले यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत र सञ्चार सेवामा अवरोध ल्याउने जोखिम रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले नागरिकका लागि विशेष सुझाव दिएको छ:
अनावश्यक काम नपरी बाहिर ननिस्कनु।
हावाहुरी चलेको बेला घरका झ्याल र ढोकाहरू बन्द राख्न।
आगोका स्रोत (चुल्हो, ग्यास) बन्द गर्नु।
सवारी साधन चलाइरहेको भए सुरक्षित स्थानमा रोकेर बस्न।
कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न।
विद्युतीय उपकरण नचलाउन र लत्रिएका तारहरू नछुन।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने सबै मौसम पूर्वानुमान र आधिकारिक सूचनाहरू नियमित रूपमा पालन गर्न पनि सबैमा अनुरोध गरेको छ।
आर्थिकन्यूज