काठमाडौं । सुरक्षा र पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ निक्षेप तथा कर्जा सुरक्षण कोष र युएनडीपीको सहकार्यमा चैत्र ५ गते सुर्खेत, विरेन्द्रनगरको होटल स्क्वायरमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
कार्यशालामा कोष, युएनडीपी तथा कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशका नौ स्थानीय तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
यस कार्यक्रमअन्तर्गत परियोजनाका लागि छानिएका स्थानीय तहहरूमा कृषिसम्बन्धी क्षेत्रहरूमा लगानी गर्न छुट्टै कोष स्थापना गरी आम जनताको ऋण पहुँच अभिवृद्धि गर्ने नमुना परियोजना लागू गर्न तयारी भइरहेको छ।
परियोजनाका लागि कर्णाली प्रदेशबाट जुम्लाका चन्दननाथ, पातारासी र तातोपानी, सुर्खेतको विरेन्द्रनगर, सुदूरपश्चिमका बाजुराका बुढीगंगा, बुढीनन्दा र त्रिवेणी, र कैलालीको धनगढी तथा बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका चयन गरिएको छ।
कार्यशालामा सहभागी जनप्रतिनिधि र कर्मचारीहरूले परियोजनासम्बन्धी जिज्ञासा, सुझाव र अनुभव प्रस्तुत गरेका थिए। निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेका अनुसार, प्राप्त सुझावहरूमा थप छलफल गरी स्वीकार्य प्रस्तावहरूलाई अन्तिम रूप दिइनेछ।
आर्थिकन्यूज