शीर्षकहरू

महासंघको साधारणसभा चैत २९-३० मा, प्रदेशको २५ गतेभित्रै सम्पन्न गर्ने निर्णय

महासंघको साधारणसभा चैत २९-३० मा, प्रदेशको २५ गतेभित्रै सम्पन्न गर्ने निर्णय

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ को केन्द्रीय साधारणसभा यही चैत २९ र ३० गते हुने भएको छ। बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले सातवटै प्रदेश महासंघको साधारणसभा चैत २५ गतेभित्रै सम्पन्न गर्ने निर्णय गरेको हो।

निर्वाचन आचारसंहिताका कारण यसअघि स्थगित भएको साधारणसभाको नयाँ मिति तय गर्न बैठक बोलाइएको थियो। यसअघि माघ २४ देखि फागुन २ गतेसम्म प्रदेशस्तरका साधारणसभा गर्ने योजना थियो। तर, निर्वाचन आयोग बाट अनुमति नपाएपछि कार्यक्रम रोकिएको थियो।

महासंघको विधानअनुसार चैत २८ र २९ मा केन्द्रीय साधारणसभा गर्नुपर्ने व्यवस्था भए पनि यसपटक विशेष परिस्थितिका कारण मिति सारिएको हो। साथै, केन्द्रको साधारणसभाभन्दा कम्तीमा एक महिनाअघि प्रदेशको साधारणसभा सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ।

विधानअनुसार साधारणसभाका लागि २१ दिनअघि सूचना जारी गर्नुपर्ने भए पनि यसपटक ‘बाधा अड्काउ फुकाउ’ व्यवस्था प्रयोग गर्दै १५ दिनको सूचना दिएर प्रदेश साधारणसभा सम्पन्न गर्ने निर्णय गरिएको महासंघले जनाएको छ।

यसपटक महासंघमा केन्द्र र प्रदेश दुवै तहका पदाधिकारीको निर्वाचनसमेत हुने भएकाले साधारणसभालाई विशेष चासोका रूपमा हेरिएको छ। विभिन्न समूहले उम्मेदवारी घोषणा गर्दै चुनावी प्रतिस्पर्धा सुरु गरिसकेका छन्।