काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात १:१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो।
यसअनुसार कम्पनीले ४० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। हकप्रद प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुकक्लोज गरिसकेको छ, जसअनुसार माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज मा कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ वैशाख १३ गते तोकिएको छ।
हकप्रद निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
हकप्रद सेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै विभिन्न बैंक शाखा र कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध छ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ, हकप्रद बाँडफाँटपछि ८० करोड रुपैयाँ पुग्नेछ। हकप्रदबाट उठेको रकम आयोजनासम्बन्धी ऋण आंशिक रूपमा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।
आर्थिकन्यूज