काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उत्पादक भूगर्भ सिमेन्ट वि.सं २०७३ मा स्थापना भएको भूगर्भ सिमेन्ट २०८० असार ७ गते पब्लिक कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीको कारखाना कपिलवस्तुको शिवराज नगरपालिका–६ मा रहेको छ भने अर्घाखाँचीको नरपानी–रखाचीकोट क्षेत्रमा चुनढुङ्गा खानी सञ्चालनमा छ। करिब ८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त खानीमा १७८.९८ मिलियन मेट्रिक टन चुनढुङ्गा रहेकोमध्ये १६१.०८ मिलियन मेट्रिक टन उत्खननयोग्य रहेको कम्पनीले जनाएको छ।
भूगर्भ सिमेन्टले “गर्भैदेखि बलियो” नारासहित लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा काठमाडौं उपत्यकासम्म आफ्नो बजार विस्तार गरिसकेको छ। कम्पनीले ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) र पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी) उत्पादन गर्दै आएको छ । जसको हालको दैनिक सिमेन्ट उत्पादन क्षमता १,५०० मेट्रिक टन रहेको छ।
कम्पनीले आर्थिक वर्ष २०८१र८२ मा १ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ कारोबार गर्दै अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशत वृद्धि हासिल गरेको छ। सन् २०२५ को पहिलो नौ महिनामै १ अर्ब १३ करोड ५० लाख रुपैयाँभन्दा बढी कारोबार गर्दै बजार मागमा उल्लेखनीय सुधार देखिएको छ।
चुक्ता पुँजी विस्तार गर्दै एक अर्ब रुपैयाँ नजिकको कम्पनी बन्ने तयारी तीव्र बनाएको छ। आधुनिक रोटरी (क्लिंकर) प्लान्ट स्थापना गर्ने लक्ष्यसहित कम्पनीले पुँजी संरचना सुदृढ गर्ने प्रक्रिया अघि बढाएको हो।
गत पुस १ गते सम्पन्न सातौँ वार्षिक साधारणसभाले हालको ५० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजीमा ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको थियो। सोहीअनुसार संस्थापक सेयरधनीलाई ३५ दिनको समयसीमा दिँदै हकप्रद निष्कासन भइसकेको छ, जसपछि कम्पनीको चुक्ता पुँजी ८० करोड ८० लाख रुपैयाँ पुग्नेछ।
कम्पनीका अध्यक्ष नन्दीकेशर पौड्यालका अनुसार हकप्रदपछि कायम पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई जारी गर्ने योजना रहेको छ। यसबाट कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नजिक पुग्ने अपेक्षा गरिएको छ।
यसअघि कम्पनीले १२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। तर, ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयपछि आईपीओ प्रक्रिया केही समयका लागि स्थगित भएको हो। आगामी दिनमा आईपीओको परिमाण बढ्ने कम्पनीले जनाएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
हकप्रदबाट संकलित पुँजीमार्फत कम्पनीले दैनिक ८०० देखि १,००० टन क्षमताको आधुनिक क्लिंकर उत्पादन गर्ने रोटरी प्लान्ट स्थापना गर्ने योजना बनाएको छ। हाल कम्पनीको क्लिंकर उत्पादन क्षमता ३०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता ५०० मेट्रिक टन प्रतिदिन रहेको छ। आधुनिक ड्राइ–प्रोसेस प्रविधि र प्रदूषण नियन्त्रण प्रणाली अपनाउँदै गुणस्तरीय उत्पादनमा कम्पनीले जोड दिएको छ।
आर्थिकन्यूज