काठमाडौँ । यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड मोटरसाइकल सार्वजनिक गर्ने भएकाे छ। कम्पनीले FZ सिरिज अन्तर्गत नयाँ मोडेल ल्याउँदै नेपाली बजारमा नयाँ सेगमेन्टको सुरुवात गर्न लागेको हो।
कम्पनीका अनुसार उक्त मोटरसाइकलको चैत्र ६ गते सार्वजनिक हुँदैछ । करिब एक दशकदेखि नेपाली बजारमा लोकप्रिय रहँदै आएको FZ सिरिज मजबुत डिजाइन, सन्तुलित प्रदर्शन र भरपर्दो माइलेजका कारण राइडरहरूको रोजाइमा पर्दै आएको छ। जापानी प्रविधिमा आधारित यामाहाको इन्जिनियरिङले शक्ति, आराम र कार्यक्षमताबीच सन्तुलन कायम गर्दै आएको कम्पनीको दाबी छ।
अब सोही विरासतलाई निरन्तरता दिँदै यामाहाले हाइब्रिड प्रविधियुक्त नयाँ मोडेलमार्फत मोटरसाइकलिङलाई आधुनिक दिशातर्फ अघि बढाउने लक्ष्य लिएको छ। “भविष्य आजबाट सुरु हुन्छ” भन्ने सन्देशसहित कम्पनीले स्मार्ट प्रविधि दैनिक प्रयोगकर्तामाझ ल्याउन खोजेको जनाएको छ।
नेपालका उकालो–ओरालो सडक, घुमाउरा राजमार्ग र सहरको व्यस्त ट्राफिकलाई ध्यानमा राख्दै नयाँ मोटरसाइकलमा उच्च कार्यक्षमता र इन्धन दक्षतामा जोड दिइएको छ। हाइब्रिड प्रविधिले परम्परागत इन्जिन र इलेक्ट्रिक सहायताको संयोजनमार्फत सहज एक्सेलेरेसन, कम उत्सर्जन र उच्च माइलेज प्रदान गर्ने बताइएको छ।
नयाँ मोटरसाइकल १४९ सीसी एयर–कुल्ड, फ्युल–इन्जेक्टेड इन्जिनमा आधारित हुनेछ, जसमा स्मार्ट हाइब्रिड असिस्ट प्रणाली जडान गरिएको छ। यसले स्टार्ट र एक्सेलेरेसनका बेला ब्याट्रीमार्फत अतिरिक्त शक्ति प्रदान गर्दै राइडिङ अनुभवलाई सहज बनाउनेछ।
करिब १३५ केजी तौल रहेको मोटरसाइकलमा मोनोक्रस सस्पेन्सन, सन्तुलित पावर डेलिभरी तथा सहर र राजमार्ग दुबैमा उपयुक्त नियन्त्रण क्षमता रहेको कम्पनीले जनाएको छ।
डिजाइनतर्फ ‘स्ट्रीट–लर्ड’ स्टाइललाई प्राथमिकता दिइएको छ। एलईडी हेडलाइट, इनबिल्ट साइडलाइट, दुई तहको सिट, मिडशिप मफलर र इन्जिन अन्डर काउलले आकर्षण र उपयोगिता दुवै बढाउने जनाइएको छ।
सुरक्षाका लागि फ्रन्ट डिस्क ब्रेकसँग सिंगल–च्यानल Bosch एबीएस, रियर डिस्क ब्रेक र चौडा रियर टायर जडान गरिएको छ। साथै साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विचले अतिरिक्त सुरक्षा प्रदान गर्नेछ।
आधुनिक सुविधाअन्तर्गत नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र E20 इन्धनसँग अनुकूलता समावेश गरिएको छ।
यामाहाले देशभर फैलिएको आफ्नो डिलरशिप र सेवा सञ्जालमार्फत ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार नयाँ हाइब्रिड मोटरसाइकलले नेपाली बजारमा दिगो र प्रविधिमैत्री यातायाततर्फ नयाँ युगको सुरुवात गर्ने विश्वास लिइएको छ।
आर्थिकन्यूज