काठमाडौं । भृकुटीमण्डपमा जारी २७औँ फ्लोरा एक्स्पोमा दर्शकको उल्लेखनीय सहभागिता देखिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित यो मेला चैत ८ गतेसम्म सञ्चालन हुनेछ।“स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ सुरु भएको एक्स्पोमा पहिलो दुई दिनमै २७ हजार दर्शकले अवलोकन गरेका छन् भने ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
चैत ५ गते (बिहीबार) सुरु भएको मेलाको पहिलो दिन ९,५०० दर्शकले अवलोकन गर्दा २१ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो। दोस्रो दिन शुक्रबार १७,५०० दर्शक पुगेका थिए भने कारोबार २९ लाख ५० हजार रुपैयाँ पुगेको फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंले जानकारी दिए। मेलामा ८३ वटा स्टल छन्, जसमा व्यवसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फूड २, ल्याण्डस्केप १, सेल्फी १ र बीवाईडी ईभी कारको १ स्टल समावेश छन्।
मेलाका संयोजक रामबहादुर तामाङ (सुनिल)का अनुसार सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ।
यस वर्षको एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज