शीर्षकहरू

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन हस्तान्तरण

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन हस्तान्तरण

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ। शुक्रवार आश्रममा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरे।

कार्यक्रममा आश्रमका अभिभावक पवन सिंघानियाले सेवा प्रवाहमा कठिनाइ भइरहेको अवस्थामा प्राप्त अटोले दैनिक कार्य सहज बनाउने विश्वास व्यक्त गरे। बैंकका सिइओ ज्ञवालीले सडक आश्रित मानवहरूको उद्धार र व्यवस्थापनमा आश्रमले गरेको कार्य सराहनीय भएको बताए। उनले मानवसेवासँग जोडिएका कार्यमा नबिल बैंक सधैं तयार रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सामाजिक साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीले सेवा वाहनको अभावमा जनकपुरमा सेवा दिन कठिन भइरहेको अनुभव सुनाउँदै, नबिल बैंकको सहयोगले सेवा सहज र शीघ्र हुने विश्वास व्यक्त गरे। नबिल बैंकले यसअघि पनि आश्रमलाई दुईवटा उद्धार वाहन उपलब्ध गराइसकेको छ।

२०६० सालदेखि सञ्चालनमा रहेको मानवसेवा आश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी करिब १३ हजार सडक आश्रित मानवको उद्धार गरिसकेको छ। नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अति आवश्यक मानवीय सहायता प्राथमिकतामा राख्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ।