काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ। गत वर्ष बाढीपहिरोले क्षतिग्रस्त राजमार्गलाई खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो। तर आज बिहान साढे ३ बजे रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख शुनिल धाँजूले जानकारी दिए।
उनका अनुसार खोलाबाटै सडक सञ्चालनमा ल्याइएकाले पानीको बहाव घटेपछि मात्र सडक पुनः सञ्चालनमा ल्याउन सकिने देखिएको छ। यद्यपि, सडक विभागमार्फत सुरक्षाकर्मीको समन्वयमा सडक खुलाउने प्रयास सुरु भएको उनले बताए।
यसैबीच, राजमार्ग अवरुद्ध भएपछि ट्राफिक प्रहरीले बिहानैदेखि सवारी साधन ‘होल्ड’ गरेको छ। प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे, साथै पूर्वतर्फ नेपालथोक र मङ्गलटारमा सवारीसाधन रोकेर राखिएको छ।
आर्थिकन्यूज