काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थायी सरकार गठनको तयारीले निजी क्षेत्रमा आशा पलाएको बताएका छन्। नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले निरन्तर अस्थिर सरकारका कारण निजी क्षेत्रले अपेक्षित काम गर्न नसकेको स्मरण गरे। उनका अनुसार, झण्डै दुई तिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बन्ने स्थायी सरकारले निजी क्षेत्रका समस्या समाधान गर्दै मनोबल उच्च बनाउने र देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने अवसर दिने अपेक्षा गरिएको छ।
अध्यक्ष अग्रवालले रास्वपाको वाचापत्रमा उल्लेख गरिएको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलगायत प्रतिबद्धताप्रति आफू उत्साहित रहेको बताए। उनले नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर अवस्थामा पुगेको उल्लेख गर्दै, कोभिड–१९ को नकारात्मक प्रभाव तथा त्यसपछिको कुशल व्यवस्थापनको अभावले अवस्था बिग्रिएको बताए।
उनका अनुसार, भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा निजी क्षेत्रका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो, जसले समग्र औद्योगिक वातावरणमा नकारात्मक असर पारेको छ।
अध्यक्ष अग्रवालले अपार प्राकृतिक स्रोतले सम्पन्न भए पनि राजनीतिक तथा नीतिगत स्थायित्वको अभावले आर्थिक समृद्धि हासिल गर्न नसकिएको बताए। साथै, युवा जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना गर्न नसकिएकोमा चिन्ता व्यक्त गरे।
आर्थिकन्यूज