शीर्षकहरू

याम्बालिङ्ग हाइड्रोपावरको पहिलो चरणको आईपीओ बिक्री खुला

याम्बालिङ्ग हाइड्रोपावरको पहिलो चरणको आईपीओ बिक्री खुला

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (चैत ८ गते)देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरका २८ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ७ करोड रुपैयाँ बराबरका ७ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। सो शेयरमा सिन्धुपाल्चोक जिल्ला अन्तर्गत जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन्।

यस्तै, सर्वसाधारणतर्फ छुट्याइएको शेयरको १० प्रतिशत अर्थात २ करोड १० लाख रुपैयाँ बराबरका २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। यसका लागि सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीले आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिनुपर्नेछ। स्थानीय बासिन्दाले अधिकतम ७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि निष्काशन छिटोमा चैत २२ गते र ढिलोमा २०८३ बैशाख ७ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंक का जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ र फाराम लिन २ रुपैयाँ शुल्क लाग्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणाली वा मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीले ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ६ महिना बाँकी छ। साधारण लगानी फिर्ता अवधि १०.७६ वर्ष र डिस्काउन्टेड फिर्ता अवधि १९.८७ वर्ष रहेको छ।

कम्पनीको क्रेडिट रेटिङ केयर रेटिङ्ग नेपाल ले ‘केयरएनपी डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।