काठमाडौं । नेपाल राष्ट्र बैंक का गभर्नर विश्वनाथ पौडेलले बैंकिङ प्रणालीमा करिब ९ खर्ब रुपैयाँ बराबरको तरलता थन्किएको उल्लेख गर्दै त्यसलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सरकारले स्पष्ट नीति र वातावरण बनाउनुपर्ने बताएका छन्।
आर्थिक पत्रकारहरूका लागि आयोजित कार्यक्रममा उनले बैंकहरूले ठूलो रकम राष्ट्र बैंकमै पार्क गरिरहेको र त्यसमा निश्चित ब्याज दिँदै व्यवस्थापन गर्नुपरेको बताए। “यो पुँजी कुन क्षेत्रमा बगाउने भन्ने स्पष्ट उद्देश्य सरकारले तय गर्नुपर्छ,” उनले भने।
उनका अनुसार विगतमा सरकारले दिएको कर छुट लगायतका नीतिगत सहुलियतकै कारण जलविद्युत क्षेत्र विस्तार भएको थियो। अब पनि त्यस्तै सम्भावनायुक्त क्षेत्र पहिचान गरी नीतिगत प्रोत्साहन दिनुपर्ने उनले सुझाए।
गभर्नर पौडेलले इरान–इजरायल द्वन्द्व लामो समयसम्म तानिए वैदेशिक रोजगारी, विदेशी मुद्रा सञ्चिति र आपूर्ति श्रृंखलामा असर पर्न सक्ने चेतावनी दिए।
उनले कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा गएको कर्जाको प्रभावकारिता पनि प्रश्न गरे। “कर्जा वास्तविक प्रयोजनमा गएको छैन,” उनले भने, “भैंसी किन्न लिएको ऋण अन्य काममा खर्च हुने प्रवृत्ति रोक्न कडाइका साथ अनुगमन आवश्यक छ।”
कर्जा सदुपयोग सुनिश्चित गर्न बैंक व्यवस्थापन नै जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उनले पारदर्शिता र अनुशासनलाई प्राथमिकता दिन आग्रह गरे। साथै, प्रविधिमा सुधार र डिजिटाइजेशनमार्फत लक्षित क्षेत्रमा कर्जा प्रवाह बढाउनेतर्फ राष्ट्र बैंकले काम गरिरहेको जानकारी दिए।
बैंक शाखा व्यवस्थापनबारे बोल्दै उनले महानगर क्षेत्रमा केही शाखा घटाउँदा सञ्चालन खर्च कम भई नाफामा सकारात्मक असर परेको उदाहरण दिए। “अब बैंकहरू नाफामुखी मात्र नभई समग्र अर्थतन्त्रको विकासमा केन्द्रित हुनुपर्छ,” उनले भने।
उनले हालको उच्च तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न मौद्रिक नीतिसँगै वित्त नीतिमा पनि समन्वय आवश्यक रहेको जोड दिए।
आर्थिकन्यूज