शीर्षकहरू

२०८३ का लागि राष्ट्र बैंकले सार्वजनिक गर्‍यो बैंक बिदा सूची, दसैं-तिहारमा लामो बिदा

०८३ सालमा बैंक कर्मचारीले ३५ दिन बिदा पाउने

२०८३ का लागि राष्ट्र बैंकले सार्वजनिक गर्‍यो बैंक बिदा सूची, दसैं-तिहारमा लामो बिदा

काठमाडौं । नेपाल राष्ट्र बैंकले वर्ष २०८३ का लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचीअनुसार आगामी वर्षमा शनिबार बाहेक कुल ३५ दिन बैंक बिदा रहनेछ।

राष्ट्र बैंकका अनुसार वैशाख १ गते (नयाँ वर्ष) बैंक बिदा हुनेछ भने वैशाख १८ गते विश्व मजदुर दिवस (मे १) का अवसरमा पनि सार्वजनिक बिदा दिइएको छ।

दसैंका अवसरमा असोज २५ गते घटस्थापनादेखि असोज ३१ गते फूलपाती हुँदै कात्तिक ६ गते द्वादशीसम्म गरी कुल ७ दिन बैंक बन्द रहनेछन्। यस्तै तिहारमा कात्तिक २२ गते लक्ष्मीपूजादेखि कात्तिक २६ गते भाइटीकासम्म ५ दिन बिदा दिइएको छ।

यसैगरी प्रत्येक शनिबार नियमित रूपमा बैंक बिदा रहनेछ भने शुक्रबार आधा दिन मात्र कार्यालय सञ्चालन हुनेछ। प्रदेश सरकारले आ-आफ्नो प्रदेशमा घोषणा गर्ने सार्वजनिक बिदा वर्षमा बढीमा ६ दिनसम्म सम्बन्धित प्रदेशका कार्यालयमा लागू हुनेछन्। ६ दिनभन्दा बढी बिदा घोषणा भएमा तथा काठमाडौं उपत्यकाका जिल्लाको हकमा भने गृह मन्त्रालय को निर्णयअनुसार हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले कार्यालय समय पनि निर्धारण गरेको छ। २०८३ वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय हुनेछ। कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय खुल्नेछ। प्रत्येक शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म मात्र कार्यालय सञ्चालन हुनेछ।