काठमाडौं । पछिल्लो १० दिनमा सुनको मूल्य ३७ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार फागुन २७ गते एक तोला सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँ थियो । आज चैत ८ गते २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।
फागुन २८ गते एक तोला सुनको भाउ ३ लाख १७ हजारमा भरेको थियो । त्यसको भोलिपल्ट फागुन २९ गते ३ लाख १४ हजार रुपैयाँमा झरेको थियो । यस्तै चैतको १ गते ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य चैत ६ गते भने ३ लाख मुनि झरेको थियो । ६ गते २ लाख ९४ हजार ५०० कायम भएको थियो । त्यसपछि एकैपटक १२ हजार ५०० रुपैयाँले घटेर चैत ८ गते आइतबार सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कायम भएको हो।
यसरी सुनको मूल्य निरन्तर घटनुको मुख्य कारण भनेको मध्यपूर्वको युद्ध हो । यस अघि युद्धका बेला सुनको मूल्य बढ्ने गरेको थियो । तर, अमेरिका-इजरायल र इरानबीचको युद्धमा भने सुनको मूल्य घटेको छ ।
यसअघि अमेरिका र भेनेजुएलाबीचको तनावले सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो । यस्ता विभिन्न युद्धका बेला सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने गरेको भएपनि अमेरिका/इजरायल र इरान बीचको युद्धमा भने सुनको मूल्य घटेको छ ।
मध्यपूर्वको युद्धले किन घट्यो सुनको मूल्य ?
मध्यपूर्वको तनावले पेट्रोलियम पदार्थको अभाव र मूल्य वृद्धि भएको छ । मध्यपूर्वको युद्ध सुरु भएपछि इजरायलले इरानको पेट्रोलियम भण्डारणमा आक्रमण गर्न थाल्यो । जसको जवाफमा इरानले पनि मध्यपूर्वका देशहरूको तेल भण्डारणमा हमला गर्न थाल्यो । यसैगरी, इरानले हर्मुज जल घाँटी बन्द गर्ने प्रयास गरिरहेको छ । यस रुट हुँदै ओसार-पोसार हुने तेल इरानले रोक्ने गरेको छ ।
हर्मुज जल घाँटीबाट विश्वको २२ प्रतिशत तेल आपूर्ति हुन्छ । इरानले सो रुट रोकेपछि विश्वमा पेट्रोलियम पदार्थको हाहाकार श्रृजना हुन थालेको छ । दक्षिण एसिया भने पूर्ण रुपमा प्रभावित भइसकेको अवस्था छ । यसले गर्दा कच्चा तेलको मूल्य पनि वृद्धि भएको छ । युद्ध अघि कच्चा तेलको मूल्य ७० डलरसम्म थियो । युद्धपछि ११२ डलरसम्म पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यस अवस्थामा विभिन्न देशहरूले आफूसँग भएको सुन बिक्री गरेर डलर खरिद गरिरहेको र सो डलर तेलमा लगानी गरेका कारण सुनको मूल्य घटेको महासंघका प्रथम उपाध्यक्ष धर्म सुन्दर बज्राचार्य बताउँछन् । उनका अनुसार तेलको कारोबार डलरसँग हुन्छ । विभिन्न देशहरूले आफूसँग भएको सुन बिक्री गरेर डलर खरिद गरिरहेका छन् । तेल खरिदगर्नका लागि सुन बेचेर डलर खरिद गरेको उनको भनाई छ । यसले गर्दा डलरको मूल्य पनि वृद्धि भएको प्रथम उपाध्यक्ष बज्राचार्यले बताए ।
यसरी सुन बिक्री गरेर डलर खरिद गर्ने र त्यो डलरले तेल खरिद गर्ने गरेका कारण सुनको आपूर्ति वृद्धि र डलरको माग वृद्धि हुँदा सुनको मूल्य घट्यो र डलरको मूल्य बढ्यो ।
विगतमा पनि तेल खरिदका लागि डलर नै प्रयोग हुन्थ्यो, त्यस अवस्थामा सुनको मूल्य किन घटेको थिएन, अहिले किन घट्यो भन्ने प्रश्नमा उनको जवाफ, 'अहिले तेल महँगीयो, त्यसले गर्दा पहिलाको भन्दा धेरै डलर तेलमा खर्च हुने भयो । डलर तेलमा धेरै खर्च हुँदा सोही अनुसार धेरै सुन बेचेर धेरै डलर खरिद गर्नु पर्यो । दोस्रो कारण तेल अभाव हुने चिन्ताले गर्दा देशहरूले सुन बेचेर डलरको स्टक बढाउँदै गएका छन् । तेलको मूल्य जति वृद्धि भएपनि खरिद गर्न डलर पर्याप्त स्टक गर्न थालेका हुन् । किनकी तेल अत्यावश्यक वस्तु हो ।’
कहिलेसम्म घट्छ ?
प्रथम उपाध्यक्ष बज्राचार्यका अनुसार युद्धले कस्तो मोड लिन्छ सोही अनुसार सुनको मूल्य निर्धारण हुन्छ । अमेरिकाले इजरायललाई तेल भण्डारमा हमला नगर्न भनेको छ । यसैगरी, इरानलाई पनि तेल भण्डारणमा आक्रमण नगर्न चेतावनी दिएको छ । यस अवस्थामा युद्ध जारी नै रहेपनि तेल भण्डारणमा आक्रमण रोकियो र आपूर्ति सहज भयो भने तेलको मूल्य फेरि घट्दै जान्छ, सोही अनुसार डलर पनि घट्छ र सुनको मूल्य बढ्छ ।
तर, तेल भण्डारणमा आक्रमण जारी रह्यो भने, सप्लाई चेनमा अझै ठूलो असर पर्याे भने तेलको मूल्य बढ्छ । सोही अनुसार सुनको मूल्य झनै घट्ने उनले बताए । हालको अवस्थामा तेल भण्डारणमा आक्रमण रोकिएको छैन । त्यसो हुँदा सुनको मूल्य केही दिन अझै घट्ने निश्चित छ ।
आर्थिकन्यूज