काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिनामा नेपालको वैदेशिक व्यापार विस्तार भए पनि उच्च व्यापार घाटा अर्थतन्त्रका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिको तुलनामा आयात, निर्यात र कुल वैदेशिक व्यापार सबै सूचकमा वृद्धि देखिएको छ। निर्यातको हिस्सा केही सुधारको संकेत देखिए पनि व्यापार घाटा झन्डै ११ खर्ब पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ महिनाको अवधिमा आयात १२.५४ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो ८ महिनामा आयात ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा निर्याततर्फ अझ तीव्र वृद्धि देखिएको छ । निर्यात २०.८३ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ मात्र थियो।
यद्यपि निर्यात बढे पनि व्यापार घाटा अझै ठूलो छ । ८ महिनामा व्यापार घाटा १० खर्ब ९८ अर्ब १३ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ११.२२ प्रतिशतले बढी हो। निर्यातको वृद्धि पर्याप्त नभएकाले व्यापार घाटा झण्डै ११ खर्ब रुपैयाँ पुगेको छ।
विश्लेषकहरुका अनुसार आयातमा निर्भर अर्थतन्त्रका कारण व्यापार विस्तार हुँदा पनि घाटा स्वाभाविक रुपमा बढ्ने गरेको छ। पछिल्लो तथ्यांकले निर्यातको वृद्धिदर उत्साहजनक देखिए पनि आयातको आकार धेरै ठूलो रहेकाले त्यसले समग्र सन्तुलन बिगारिरहेको देखिन्छ।
कुल वैदेशिक व्यापार (आयात र निर्यातको योग) १३.५५ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ३६ करोड पुगेको छ। अघिल्लो वर्ष यो १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ थियो।
यस अवधिमा आयात–निर्यात अनुपात भने घटेको छ। अघिल्लो वर्ष ७.२४ रहेको आयात–निर्यात अनुपात चालु वर्षमा घटेर ६.७५ मा झरेको छ, जसले निर्यातको हिस्सा केही बलियो बन्दै गएको संकेत गर्दछ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.१३ प्रतिशतबाट बढेर १२.९१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८७.८७ प्रतिशतबाट घटेर ८७.०९ प्रतिशतमा सीमित भएको छ।
भारत र चीनसँगै व्यापार घाटा चुलिँदै, पेट्रोलियम आयातमै ठूलो खर्च
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले मुख्य व्यापार साझेदार मुलुकहरू भारत र चीनसँग ठूलो व्यापार घाटा व्यहोरेको छ। अत्यधिक आयात र न्यून निर्यातका कारण समग्र वैदेशिक व्यापार सन्तुलन थप दबाबमा परेको देखिन्छ।
तथ्यांकअनुसार फागुन मसान्तसम्म भारतसँग मात्रै नेपालको व्यापार घाटा ५ खर्ब ६७ अर्ब ३९ करोड पुगेको छ। यस अवधिमा भारतबाट ७ खर्ब २४ अर्ब ६ करोड बराबरको वस्तु आयात हुँदा नेपालबाट एक खर्ब ५६ अर्ब ६६ करोडको मात्र निर्यात भएको छ।
त्यसैगरी, चीनसँगको व्यापारमा पनि असन्तुलन गहिरिँदै गएको छ। चीनबाट २ खर्ब ७५ अर्ब ६६ करोड ७० लाखको आयात हुँदा निर्यात भने ९८ करोड ३३ लाखमा सीमित रहँदा २ खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख व्यापार घाटा देखिएको छ।
नेपालले सबैभन्दा बढी व्यापार घाटा व्यहोरेका अन्य मुलुकमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्।
यद्यपि केही मुलुकसँग नेपालले व्यापार नाफा पनि गरेको छ। रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक र केन्यासँग नाफा देखिएको छ। पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख, नर्वेसँग ३ करोड ३३ लाख र आइसल्याण्डसँग २ करोड ५७ लाख नाफा भएको छ।
यस अवधिमा सबैभन्दा धेरै आयात हुने वस्तु पेट्रोलियम पदार्थ नै रहेको छ। डिजेलमा ८२ अर्ब १० करोड ५१ लाख, पेट्रोलमा ४३ अर्ब ८९ करोड ७३ लाख र एलपी ग्यासमा ३७ अर्ब ३१ करोड ३७ लाख खर्च भएको छ।
त्यस्तै, कच्चा भटमास तेल ८१ अर्ब १८ करोड ६४ लाख, स्मार्टफोन २९ अर्ब ९३ करोड ५९ लाख, फलामजन्य वस्तु ३६ अर्ब ८२ करोड ३० लाख, सुन २३ अर्ब ४९ करोड ६७ लाख र चाँदी १८ अर्ब ४४ करोड ७८ लाख बराबर आयात भएको छ।
निर्याततर्फ भने भटमास तेल पहिलो स्थानमा रहेको छ। आठ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख बराबर भटमास तेल निर्यात भएको छ। यसबाहेक अलैँची ९ अर्ब ४९ करोड ६१ लाख, कार्पेट ६ अर्ब ५३ करोड ९६ लाख, सूर्यमुखी तेल ६ अर्ब २० करोड २३ लाख र पाम तेल ४ अर्ब ३२ करोड निर्यात भएको छ।
अर्थविद्हरूका अनुसार निर्यात वृद्धिको दर सकारात्मक भए पनि उच्च व्यापार घाटा अर्थतन्त्रका लागि चुनौतीपूर्ण नै रहेको छ । उनीहरुका अनुसार आयात प्रतिस्थापन, औद्योगिक उत्पादन वृद्धि र निर्यात प्रवद्र्धनका नीतिमा ठोस सुधार नभएसम्म उच्च व्यापार घाटा अर्थतन्त्रमा दीर्घकालीन दबाबकै रुपमा रहनेछ।
आर्थिकन्यूज