काठमाडौँ । भारत र चीनबीच लिपुलेक पास हुँदै हुने सीमापार व्यापार ६ वर्षपछि पुनः सुरु हुने भएको छ। सन् २०२६ जुनदेखि व्यापार सञ्चालन गर्ने सहमति भएसँगै दुई देशबीच सम्बन्ध सुधारतर्फ संकेत देखिएको छ।
यो निर्णय सन् २०२५ अगस्टमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीनका विदेशमन्त्री वाङ यीबीच भएको उच्चस्तरीय वार्तापछि गरिएको हो।
किन महत्वपूर्ण छ लिपुलेक ?
व्यापार जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने जनाइएको छ। पहिलोपटक मोटरबाटोमार्फत व्यापार हुने भएकाले ढुवानी समय र लागत घट्ने अपेक्षा गरिएको छ।
५,३३४ मिटर उचाइमा रहेको लिपुलेक पास भारत (उत्तराखण्ड), चीन (तिब्बत) र नेपाल जोड्ने रणनीतिक त्रिदेशीय बिन्दु हो। यो मार्ग धार्मिक रूपमा कैलाश मानसरोवर यात्राका लागि पनि महत्वपूर्ण मानिन्छ।
नेपालको आपत्ति किन ?
नेपालले सन् १८१६ को सुगाौली सन्धिका आधारमा लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।
विवाद काली नदीको मुहान कहाँबाट सुरु हुन्छ भन्ने विषयमा केन्द्रित छ। नेपालले लिम्पियाधुराबाट सुरु हुने दाबी गर्छ भने भारतले कालापानी नजिकबाट सुरु हुने बताउँछ।
सन् २०२० मा नेपालले नयाँ नक्सा सार्वजनिक गर्दै उक्त क्षेत्रलाई आफ्नो भूभागमा समेटेपछि विवाद झनै चर्किएको थियो।
के असर पर्छ ?
लिपुलेकमार्फत व्यापार पुनः सुरु हुँदा भारत–चीनबीच आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। तर नेपालको असहमतिका कारण यो विषय क्षेत्रीय कूटनीतिक चासोको विषय बनेको छ।
भारतले भने सीमा विवाद समाधानका लागि संवादमार्फत अघि बढ्न तयार रहेको जनाएको छ।
आर्थिकन्यूज