शीर्षकहरू

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार: तत्कालीन सचिव अधिकारी सहित २१ जना विरुद्ध मुद्दा

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार:  तत्कालीन सचिव अधिकारी सहित २१ जना विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचारको आरोपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी सहित २१ जना विरुद्ध मुद्दा दायर गरेकाे छ ।

अख्तियारले तत्कालीन सचिव अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, अन्य प्राधिकरणका कर्मचारी तथा ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जीनियरिङ र परामर्शदाता इआरएमसी/ए नाेट, स्लेट जेभीका प्रतिनिधिहरूसमेत गरी २१ जना प्रतिवादीविरुद्ध विषेश अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सुपरिवेक्षण परामर्शदाता नियुक्ति गर्दा २८ लाख अमेरिकी डलरको  प्रभिजनल सम ( Provisional Sum ) राखिएको भए पनि, उक्त रकमको उपयोग नगरी नेपाल नागरिक उड्डयन प्राधिकरणको छुट्टै बजेटबाट ४२.८९ करोड रुपैयाँ खर्च गरी भ्रष्टाचार भएको प्रमाणित भएको छ। यसले प्राधिकरणकाे कुल ४६.१५ करोड रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिको हिनामिना, हानिनोक्सानी र दुरुपयोग भएकाे छ ।

अख्तियारले आरोपपत्रमा प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कारबाही र बिगो असुल गर्न माग गरेको छ। आरोपपत्रमा ठेकेदार र परामर्शदाता कम्पनीका प्रमुख व्यक्तिहरू समेतको संलग्नता उल्लेख गरिएको छ।

'प्रतिवादीहरूले जानबुझी गैरकानुनी लाभका लागि योजना बनाएर सार्वजनिक सम्पत्तिको हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेका हुन्। यस कार्यलाई अदालतमा उजुरीसहित आरोपपत्र दायर गरिएको छ ।' अख्तियारले सार्वजनिक गरेकाे प्रतिवेदनमा उल्लेख छ ।